असोज २४ –कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ। कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ। जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ। कर्णालीमा पानीको सतह १०।८ पुगेमा खतरा तह पार भएको मानिन्छ।
कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुला भरिएको छ। रानीकुला बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौं घर डुबानमा परेका छन्। कर्णालीमा बाढी बढ्दा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका प्रभावित हुने गरेका छन्।
जानकी गाउँपालिकाको वडा नं ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ। रानीकुलामा पानीको बहाव बढेकाले वडा नं ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।
कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ। गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मूतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको गाउँपालिकाले जनाएको छ।
रानीकुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नं १ को शक्तिननगर, वडा नं २ को विजयनगर र वडा नं ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको छ।
वडा नं ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेका बताइएको छ । टीकापुर–५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू बताउँछन्।
कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ। पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरी बताए। ‘कर्णाली नदी तटमा रहेका नागरिकलाई सुरक्षित राख्न पालिकाले सबैलाई सूचना गरेको छ । प्रहरी तथा उद्धारमा खट्ने सबै संयन्त्रसँग समन्वय भइरहेको छ’, उनले भने, ‘बाढी पसेमा क्षति हुन्छ।’
प्रमुख जिल्ला अधिकारी किरण थापा तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेको बताउँछन्। ‘हामीले नदीले खतरा तह पार गरेपछि सम्बन्धित पालिकाका प्रमुखसँग सम्पर्क गरिरहेका छौं’, उनले भने, ‘नदी फुटेमा बस्ती सखाप हुने जोखिम छ। तटबन्ध भइरहेका ठाउँमा नदी फुट्ने खतरा छ। त्यस क्षेत्रका नागरिकलाई सुरक्षित सर्न भनेका छौं।’
भजनीका स्थानीय जयप्रसाद ढुङ्गानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताए। उनले भोकभोकै पानीमा भिज्दै बाढीपीडित रात काटिरहेको बताए। बाढीले भजनीमा सयौं परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन्। कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ।
Leave a Reply