असोज २८ –सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव भेटियो । सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।
उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।
कार्कीसँग ठाकुर र मण्डलको विराटनगरमै आएर चिनजान भएको देखिएको प्रहरीले बताएको छ ।
सिरहाको गोलबजार नगरपालिका ३ बस्ने १७ बर्षीय अंशुलाई मंगलबार मोटरसाइकलमा आएका ३ जनाको समूहले लिएर गएका थिए । त्यसको भोलिपल्टै सदाको परिवारलाई फोन गरेर १ लाख रुपैयाँ फिरौती मागेका थिए । ‘फिरौती माग्न फोन गर्दा मैले पनि अपहरणकारीसँग कुरा गरेको थिएँ’ वडा सदस्य बेचन साह हलुवाई भन्छन्, ‘मान्छे गरीब छ, कहाँबाट यत्रो रकम दिन सक्छ भनेर भनेका थियौं । तर उनीहरुले नदिए मारिदिने बताएका थिए ।’
गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत अंशुको हत्या गरिदिने धम्की पाएपछि परिवारजनले खोजेर अपहरणमा संलग्नमध्ये एकको खातामा १० हजार रुपैयाँ पठाइदिएका थिए ।
बिहीबार नै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा अंशुको खोजीका लागि निवेदन पनि दिएका थिए । फिरौती रकम जम्मा गरिदिएको खाताका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । त्यसका अधारमा शुक्रबार बैंकमा पैसा निकाल्न पुगेका कार्की र मण्डल पक्राउ परे । तर उनीहरुले अंशुको हत्या गरिसकेको पाइएको छ ।
बिहीबार अप्सरा गेष्ट हाउसभित्र इँटा प्रहार गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवकको मुख रुमालले बाधेर इँटाले प्रहार गरी हत्या गरेको देखिएको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
पक्राउ परेकाहरुले प्रहरीलाई शव भएको ठाउँसम्म पुर्याएका थिए । ‘पक्राउ परेकाहरुलाई हामीले सोधपुछ गर्दा अपहरणपछि हत्या गरिसकेको बयान दिए’, एसपी कोइरालाले भने, ‘होटलमा शव भेटियो ।’ प्रहरीले ठाकुरलाई पनि होटलमै पक्राउ गरे ।
अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा २ वटा बेड छ । बिहीबार राति युवकको हत्यापछि शव एउटा बेडकोभित्र पट्टी हालेर उनीहरु त्यही कोठामा बसेको पाइएको छ ।
अंशुका बुबा वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् ।
Leave a Reply