कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले रासायनिक कृषि मलको अभाव नभएको बताएकी छन् । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेड अनुगमननका क्रममा मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताएकी हुन् । उनले मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै छिटोभन्दा छिटो समाधान गरिने बताइन् । असार र साउन महिनाका लागि पर्याप्त मल रहेको र भदौँ÷असोजको लागि मल आपूर्तिको तयारी भइरहेले स्टक नराख्न किसानसंग उनले आग्रह गरिन ।
उनले भनिन्, ‘आजको दिनमा हाम्रो खेतीबाली लगाउन सम्मको निम्ति मल पर्याप्त छ । थोरै समस्या वितरणसँग जोडिएको छ । वितरणसँग जोडिएका समस्या हामी तुरुन्तै समाधान गर्छौ ।’ उनले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचान सहित मल वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिइन् । स्थानीय तहलाई पनि पत्राचार गरेर मल स्टक नराख्न अनुरोध गर्नुपर्ने उनले बताइन् ।
कृषि सामग्री कम्पनी लिमिटेडले हाल २० हजार ८६ मेट्रिक टन युरीया मल, ३९ हजार २ सय मेट्रिक टन डि.ए.पी मल, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र कृषि चुन ४ सय ४४ मेट्रिक टन मौज्दात रहेको जानकारी दिएको छ । साथै साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले यूरिया मल १५ हजार २ सय ४ मेट्रिक टन, डि.ए.पी. १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास ३ हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको बताइएको छ ।
Leave a Reply