असार ११ – अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा.अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । २५ प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ ।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । संघले बुधबारबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४ सय ८० र मझौला ४ सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको हो ।
व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो ३ हजार ५४० र मझौला ३ हजार ३३० रुपैयाँमा बिक्री गर्ने पोखरेलले बताए । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन् । विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनी बताउँछन् ।
अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो । धेरै किसान विस्थापितसमेत भएको उनी बताउँछन् । गत वर्ष प्रतिक्रेट ५ सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर ३ सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ ।
Leave a Reply