काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ ।
बिहीबार काठमाडौं महानगरपालिकाको नगरसभाको नवौँ अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७८\७९ का लागि अनुमानित आयव्ययको विवरणप्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिलाई सम्बोधन गर्दै करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६\०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट प्रस्ताव गरिएको छ ।
यस्तै २०७८\७९ को सम्पत्ति करमा ८० प्रतिशत छुट दिने र २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत थप छुट दिने प्रस्ताव महानगरले गरेको छ ।
बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।
यस्तै कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
Leave a Reply