दोब्बर पुग्यो एक वर्षमा अलैंचीको मूल्य

 ग्लोबल टिभि      बिहिबार, मंसिर २, २०७८      0

फुङ्लिङ,मङ्सिर२गते ।
गत वर्ष प्रतिमन (४० किलो) २५ हजार रुपैयाँको हाराहारीमा बिक्री भइरहेको अलैंचीको भाउ अहिले ४८ हजार रुपैयाँसम्म
सदरमुकाम फुङलिङका अलैंची व्यवसायी भद्रवीर रेग्मीले सोमबार प्रतिमन (४० किलो) ४४ हजार रुपैयाँका दरले ६ मन अलैंची किने । फक्ताङलुङ गाउँपालिका–५ तापेथोक हेल्लोकका शुकबहादुर लिम्बूबाट अलैंची किनेका उनले कुल दुई लाख ६४ हजार रुपैयाँ बुझाए ।
कोइवा केरियर सेवाको ट्रयाक्टरमा ल्याएको अलैंची सदरमुकामकै गोदाममा खन्याए। उनै रेग्मीले गत वर्ष कात्तिक २८ गते फुङलिङ नगरपालिका–१० फुरुम्बुका च्याङ्वा तामाङसँग प्रतिमन २६ हजार रुपैयाँका दरले सात मन अलैंची किनेका थिए। त्यो महिनाभर प्रतिमन २४ र २५ हजारले चलेको अलैंचीको भाउ २८ गते एक हजार रुपैयाँ बढेको थियो।
अहिले चलनचल्तीमा अलैंची ४४ हजार, ‘पुच्छर’ काटेको ४६ हजार ५ सय र ठूला दाना भएको (ग्रेडिङ गरिएको) अलैंची प्रतिमन ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपालबाट भारत अलैंची निर्यात गर्ने झापा बिर्तामोडका व्यवसायी ओमकृष्ण विमली बताउँछन्। उनका अनुसार अघिल्लो वर्ष यही बेला बिर्तामोडमा अलैंचीको मूल्य प्रतिमन २५ हजार रुपैयाँ थियो।
गत वर्षको तुलनामा अहिलेको मूल्य झन्डै दोब्बर पुगेको व्यवसायी बताउँछन्। यस वर्ष अलैंचीको उत्पादन ७० प्रतिशत हाराहारीमा मात्रै रहेको र भारतबाट माग पनि आइरहेकाले मूल्य बढेको बिमलीको भनाइ छ। पूर्वको ताप्लेजुङदेखि पश्चिमको दोलखासम्म उत्पादन हुने अधिकांश अलैंची बिर्तामोड ल्याएर काँकरभिट्टा नाका हुँदै भारत निर्यात हुने गरेको छ। आफूले पूर्वमा ताप्लेजुङदेखि पश्चिमको लमजुङ, कास्की, गोरखा, बागलुङ र नुवाकोटसम्मको अलैंची किनेको उनको भनाइ छ।
देशका ४३ जिल्लामा अलैंची उत्पादन हुन थालेको अलैंची ब्यवसायी महासंघको तथ्यांक छ। तर पुराना बगान भएका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुमलगायत जिल्लामा उत्पादन घट्न थालेको छ। दाना पनि सानो हुने भएकाले चल्तीको उत्पादनलाई इलामे अलैंची भन्ने गरिएको बिमली बताउँछन्। बगानमा उत्तिसलगायत रुख बढ्दै जानु, तिनले नाइट्रोजनको मात्रा आफैंले सोसेर लिनु र पुरानो बगानमा मलपानी कम हुनुले पूर्वमा अलैंची उत्पादन घटेको किसानहरुको दाबी छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *