पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुका सबै छातासंगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सेफ्टि पोर्टोकलको आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।
देशमा सभा, विरोध, जुलुस लगायतका कार्यक्रमहरु दैनिक रुपमा भइरहदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने कुरालाई नमान्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम हुँदैन भने विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिदा पनि कोभिड संक्रमणको जोखिम नहुने बताए। पिसिआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने बताए।
यस्तै पिसिआर नेगेटिभ आएका पर्यटकलाई पाँच दिनको क्वारेन्टाइन हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लागायतका मापदण्डलाई खारेज गर्न माग समेत गरेका छन्।
Leave a Reply