भदौ ३० –बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) संकुचन भएपछि नेपाल राष्ट्र बैंकले एक साताको बीचमा दुईपटक रिपोमार्फत बजारमा तरलता पठाउने भएको छ ।
राष्ट्र बैंकले ३० भदौ बिहीबार रिपोमार्फत बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको हो । उक्त रिपोको अवधि ७ दिनको रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यसअघि २३ भदौमा १४ दिन अवधिको उक्त रिपोमार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ नै तरलता बैंकहरूमा पठाएको थियो । उक्त रिपोको अवधि अझै एक साता बाँकी रहेको छ । उक्त रिपोको अवधि नसकिदै केन्द्रिय बैंकले थप २० अर्ब तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।
बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकम बोलकबोल गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपोमार्फत तरलता पठाइसकेको थियो । यस्तै १४ अर्ब ८५ करोडको ओभरनाइट पर्चेजमार्फत बैंकमा तरलता पठाइसकेको छ ।
बैंकहरुले २९ भदौसम्म १६ खर्ब १६ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) र ४१ अर्ब ५७ करोड ओभरनाइट रिपो गरि १६ खर्ब ५८ अर्ब ५३ करोड ३० लाख रुपैयाँ तरलता सुविधा प्रयोग गरिसकेका छन् ।
जसमध्ये २९ भदौसम्म बैंकहरुले भुक्तानी तरलता सुविधा वापतको राकम एक खर्ब ६१ अर्ब ८७ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम हुँदा रिपोमार्फत तरलता प्रभाव गर्ने गर्छ भने बढी हुँदा रिभर्स रिपोमार्फत प्रशोचन गर्छ ।
प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।
यस्तै बैंकले बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने मौद्रिक औजार ‘रिभर्स रिपो’ हो ।
Leave a Reply