पर्वतमा पहिरो पीडितलाई क्षतिअनुसार राहत दिने तयारी

 ग्लोबल टिभि           0

असोज २८ –पर्वतको कुश्मा नगरपालिकाले हालैको बर्खामा भएका मनसुनजन्य विपद् तथा महामारी जन्य विपद्को कारण समस्या परेका नागरिकलाई राहतको घोषणा गरेको छ।

कुश्मा नगरपालिकाको विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडितहरूको अवस्था हेरी राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आगलागीजन्य घटनाका पीडितलाई पनि राहत दिने निर्णय गरेको छ।

नगरप्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २०७८ साल चैत्र देखी २०७९ साल असोजसम्म निवेदन दिएका पीडितहरूलाई राहत दिने निर्णय गरेको हो।

कार्यालयमा क्षतिको निवेदन दिएका व्यक्तिहरूको सम्बन्धमा प्राविधिकबाट निरीक्षण गराई ५० हजार सम्म क्षति भएकालाई पाँच हजार, ५० हजार देखि एक लाख ५० हजार सम्म क्षति भएकालाई १० हजार र एक लाख ५० हजार भन्दा माथि लागत अनुमान भएकालाई १५ हजार रुपैयाँ राहत वितरण गरिने भएको छ। नगरपालिका भित्र करिब एक सय जनाले विभिन्न विपद्‍मा परेको भन्दै निवेदन दिएका थिए।

कुश्मा नगरपालिका–५ मा घर जलेका मानकुमारी श्रेष्ठलाई एक लाख र अन्य छ जनालाई ५० हजारको दरले राहत वितरण गरिने भएको छ। अरिङ्गालले टोकेर मृत्यु भएका कुश्मा नगरपालिका–१ पाङका श्रीराम परियारको परिवारलाई ५० हजार दिने निर्णय भएको नगर प्रमुख जोशीले बताए। विपदबाट चौपाया क्षति भएका नागरिकलाई पनि राहत दिइने छ।

राहत पाउनका लागि यसअघि निवेदन दिएकाले वडाको सिफारिस, प्रहरी मुचुल्का, प्राविधिक प्रतिवेदन समेत संलग्न गराउनुपर्ने भएको छ। जाली, पाइप र पाल भने तत्काल वितरण नगरिने भएको छ। निर्वाचन आचारसंहितामा यस्ता सामाग्री वितरण गर्न नहुने उल्लेख छ। तर विपद्को राहत वितरणमा भने निर्वाचन आयोगले रोक लगाएको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *