पछिल्लो समय राजनीतिमा देखिएको अन्योलको असर पूँजी बजारमा पनि परेको छ । विगत ६ महिना देखि निरन्तर बढिरहेको शेयरबजार परिसूचक नेप्से मुलुकमा राजनीतिक उथलपुथलपछि घट्न सुरु गरेको छ । फागुन ९ गते हालसम्मकै उच्च विन्दु २६४१ विन्दुमा पुगेको नेप्से त्यसयता उतारचढावपूर्ण रहेपनि उक्त अंक नाघ्न सकेको छैन । बुधबार २४५८ अंकमा आएर कारोबार बन्द भएको छ ।
बजार निरन्तर बढेसँगै नेप्सेले नयाँ–नयाँ कृतिमान बनाउँदै गएको थियो । नेप्से परिसूचक मात्रै नभएर उक्त अवधिमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको थियो । अहिले नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ ।
मुलुकको राजनीतिक पाटो स्पष्ट नहुँदा ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकोले पनि नेप्सेमा दवाव परेको विष्लेषण गर्न थालिएको छ । १० अर्ब बढीको कारोबार हुने बजार अहिले घटेर ४ देखि ५ अर्बमा खुम्चिएको छ । विगतमा २ करोड कित्ता बढी शेयर खरिदबिक्रि हुने गरेकोमा बुधबार ७८ लाख १६ हजारमा मात्रै सिमित भएको छ । बुधबार २०६ कम्पनीको शेयर कारोबार भएपनि शेयर संख्या, कारोबार रकम निकै कम देखिएको छ । कुल ७८ लाख १६ हजार ८ सय ७६ कित्ता शेयर ४ अर्ब १० करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ ।
Leave a Reply