मुख्य संरचना ड्याम र सुरुङमा पानी भर्न सुरु
डम्बर चाैलागाई, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०६७ भदौदेखि निर्माण सुरु भएको आयोजनाबाट २०७८ साल वैशाखमा पहिलो परीक्षण उत्पादन गर्ने तयारी भइरहेको छ । कुल ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजनाको आंशिकबाहेक सबै निर्माणकार्य सम्पन्न भएको छ । अहिले मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
पूर्ण क्षमतामा सुरुङ र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य आजदेखि सुरु भएको छ । वेट टेस्ट भनिने यसमा सबै सुरुङको ड्याममा पानी भरेर परीक्षण गरिन्छ । ‘यो परिक्षण १५ दिनभित्रमा सकिन्छ । र, यसपछि सबै टर्वाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत निकाल्ने तयारी गरिएको छ ।’ प्रवक्ता न्यौपानेले भने । ‘चैत मसान्तसम्ममा कम्तिमा एउटा टर्वाइनबाट भए पनि विद्युत उत्पादन गर्ने लक्ष्य छ । परीक्षण र निर्माणमा कुनै सम्झौता नगरी सक्रिय भएर जुटिरहेका छौं ।’
२०६७ भदौदेखि मुख्य निर्माणको काम सुरु भई ५ वर्षमा सम्पन्न गर्ने भनिएपनि राजनीतिक तथा स्थानीय अवरोध, भूकम्प, भारतीय नाकाबन्दीदेखि ठेकेदार कम्पनीको कमजोरी र पछिल्लो समय लक डाउनका कारण निर्माण कार्यले सोचेअनुरुपको गती लिन नसकेको हो । झण्डै १० वर्षपछि बल्ल आयोजनाबाट परिक्षण उत्पादन सुरु हुन लागेको हो ।
आयोजनाबाट वार्षिक औसत दुई हजार दुई सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड बहावमा डिजाइन गरिएको आयोजनाको बाँधक्षेत्र मात्रै एक हजार सात सय ४५ वर्गमिटर छ । जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ । भूमिगत विद्युतगृह रहेकोे आयोजनामा मुख्य सुरुङ मात्रै ८.८६ किलोमिटर छ ।
Leave a Reply