फेक रेस्क्यू : थन्कियो प्रतिवेदन, कसैलाई कारवाही भएन

 ग्लोबल टिभि      आइतवार, चैत्र ८, २०७७      0

शंकर मोक्तान । पर्यटकलाई नक्कली उद्दार गरि ठगी गर्ने कम्पनीलाई अझै कारवाही हुन सकेको छैन । फेक रेस्क्यूमा संलग्नलाई कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७५ साउनमा सम्बन्धित निकायहरुलाई पत्रचार गरेको थियो । पत्राचार गरेको तीन वर्ष पुग्न लाग्दा समेत कुनै पनि कम्पनीलाई कारवाही गरिएको छैन । नेपाल आउने पर्यटकलाई नक्कली उद्दारको नाममा ठगी गरेको भन्दै १५ संस्थालाई कारबाही गर्न पर्यटन मन्त्रालयले सिफारिस गरेको थियो ।
मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले कारवाहीको लागि सम्वन्धित निकायमा सिफारिस गरिएको बताए । तर, किन कारवाही भएन यसबारे आफुलाई जानकारी नभएको उनको भनाइ छ ।  कारबाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्ट्र बैङ्क, राजस्व अनुसन्धान विभाग, स्वास्थ्य मन्त्रालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई प्रतिवेदनसहित पत्राचार गरिएको उनको जवाफ छ ।

पर्यटन मन्त्रालयका तत्कालिन सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई २०७५मा प्रतिवेदन बुझाएको थियो । बिमा कम्पनीलाई ठग्न नेपाल घुम्न आउने पर्यटकलाई खानामा विभिन्न पदार्थ मिसाएर बिरामी बनाउने र उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भए पछि फेक रेस्क्यू प्रतिवेदन नै थन्किएको छ ।

फेक रेस्क्यूमा संलग्न कम्पनीहरु

पर्यटन मन्त्रालयले विदेशी पर्यटकलाई पदयात्राका क्रममा उद्धार गर्दा चर्काे असुली गरेको विषयमा छानबिन समितिले १५ संस्थाको संलग्नता देखिएको थियो । ८ ट्राभल तथा उद्धार संस्था र ४ अस्पताल र ३ हेलिकप्टर कम्पनी रहेका छन् ।

हेलिकोप्टर कम्पनी

मनाङ एयर
एयर डाइनेस्टी
हेली एभरेष्ट

ट्राभल तथा उद्धार संस्था

हिमालय सोसल जर्नी
माउन्टेन रेस्क्यू
कैलाश चार्टर्ड
इजी हेली
इगल हेली
फ्लाइट कनेक्सन
अल्पाइन रेस्क्यु
माउन्टेन हेली

अस्पताल

बयोधा
स्वागन
न्यू ईरा र सिविक छन् ।

छानबिन प्रतिवेदनमा एउटै अस्पतालले उद्धारपछि उपचारको बिमा रकम ६० लाखसम्म दाबी गरेको उल्लेख छ । त्यस्तै, उद्धार संस्थाले पर्यटकसँग उद्धारका नाममा ६५ लाख बिमा दाबी गरेको भेटिएको थियो । पदयात्रामा जाने पर्यटकलाई बिरामी बनाएर वा बिरामी अवस्थामा उद्धार गरेर हेलिकप्टर, ट्राभल कम्पनी र अस्पतालले आपसी मिलेमतोमा बीमा रकम दाबी गरी ठगी गर्दै आइरहेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *