संवेग बस्नेत, काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएको र संक्रमित हुनेहरु मध्ये बालबालिका धेरैभएपनि विद्यालय बन्द गर्ने बिषयमा सरकारले आवश्यक निर्णय लिन सकेको छैन् । स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न आग्रह गरेको हप्तादिन भैसक्दा पनि शिक्षा मन्त्रालयले कुनै कदम चाल्न नसकेको हो ।
यसैबीच विद्यालय सञ्चालन का बिषयमा आवश्यक निर्णय लिन भन्दै सोमवार शिक्षा मन्त्रालय र सरोकारवालाका बीचमा भएको छलफलबाट पनि कुनै ठोस निश्कर्ष निस्कन सकेन् । बिहानै सिंहदवार स्थित शिक्षा मन्त्रालयमा भएको छलफलमा नीजि विद्यालयका छाता संगठनहरु, शिक्षक महासंघ, अविभावक संघ,नगरपालिका महासंघ लगायतका सरोकारवालाहरु सहभागी थिए ।
आफैंले बोलाएको छलफलमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ भने सहभागी हुन नसकेको प्रवक्ता दिपक शर्माले जानकारी दिनु भयो । ग्लोबल टेलिभिजनसंग भएको कुराकानीमा प्रवक्ता शर्माले व्यक्तिगत समस्याले मन्त्री श्रेष्ठ सहभागी हुन नसकेको बताउनु भयो । मन्त्री श्रेष्ठको अनुपस्थितिमा भएको छलफलले कुनै ठोस निर्णय नगरेको प्रवक्ता शर्माको भनाइ छ ।
सरोकारवालाहरुबाट सुझाव लिनका लागि मात्रै बैठक बोलाइएको उहांको दाबी छ । छलफलमा सहभागीहरुले देशैभरका विद्यालय बन्द गर्ने भन्दा पनि कोरोनाको जोखिम भएका स्थानहरुको पहिचान गरी स्थानीय स्तरबाट निर्णय लिनुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले जानकारी दिनु भयो । सरोकारवालाहरुले दिएको सुझाव अनुसार मन्त्रालयले आवश्यक निर्णय लिने उहांको भनाइ छ ।
कोरोनाको जोखिम बढेसंगै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । यसै गरी मन्त्रालयले २५ जना भन्दा बढी भेला नहुन र रात्रिकालीन व्यवसाय ९ बजेपछि नै बन्द गर्न सरोकारवालाहरुसंग आग्रह गरेको थियो ।
Leave a Reply