काठमाडौं,फागुन २६गते । सरकारले माओवादी सशस्त्र द्वन्द्वलगायत अन्य अवस्थामा राज्य तथा विद्रोही पक्षका कारण जागिरबाट हटाइएका वा जागिरमा बहाल हुन नसकेका ४९८ जना शिक्षकलाई पुनर्वहाली तथा निवृत्तिभरण लगायतका सुविधा दिने निर्णय गरेको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले राजनीतिक पुर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीका विषय गठित जाँचबुझ समिति २०७३ को सिफारिसका आधारमा पुनर्वहाली, निवृत्तिभरणसहितका सुविधा वा सिफारिस अनुसारको अस्थायी नियुक्ति वा सुविधा दिनेगरी लगेको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ ।
नेपाल प्रेसले पुनर्वहाली हुने लगायत ४९८ शिक्षकको नामावली प्राप्त गरेको छ । जसमा २३३ जनालाई पुनर्वहाली गर्न,१८ जनालाई सिफारिस अनुसारको नियुक्ति दिन,४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिन तथा १९८ जना अस्थायीतर्फका शिक्षक छन् ।
पुनर्वहाली तथा सिफारिस अनुसारको नियुक्ति दिन कतिपय शिक्षकको नाममा दुई ठाउँमा समेत छ ।
यसबीचमा निधन भइसकेका शिक्षकको हकमा आश्रित परिवारका सदस्यलाई कानून बमोजिम निवृत्तिभरण, उपदान वा वराहत उपलब्ध गराउने निर्णय भएको मन्त्री पौडेलले बताए ।
त्यस्तै उमेर हदका कारण अब नियुक्ति दिन नमिल्नेलाई उपदान र पेन्सन दिने र त्यो पनि नमिल्ने हकमा निश्चित मापदण्ड तोकेर राहत दिने सिफारिस भएको छ ।
Leave a Reply