अधिकांश शैक्षिक संस्था मापदण्ड विपरित सञ्चालन

सचेतना नअपनाईए कोरोनाको उच्च जोखिम हुन सक्ने विज्ञको चेतावनी

 ग्लोबल टिभि           0
file photo

लक्ष्मी अधिकारी । कारोना महामारीका कारण दश महिना पछि शैक्षिक संस्थाहरुमा पठन पाठन सुचारु भएको छ । तर अधिकांशले स्वास्थ्य मापदण्ड पुरा नगरेका कारण जोखिम भने कायमै छ । महामारी विरुद्धको खोप अभियान सुरु भए पनि अठार वर्ष मूनिका नागरिकलाई खोप लगाउन नमिल्ने भएका कारण भिडभाड हुने क्याम्पस र विद्यालय क्षेत्रमा थप सजकता अपनाउनु पर्ने देखिन्छ । सामाजिक दुरि र स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र विद्यालय सञ्चालन गर्नु पर्ने मापदण्ड पालना नहुदा स्थिती भयावह हुन सक्ने तर्फ विज्ञहरुले सचेत गराएका छन् ।

शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘यसबीचमा मैले चार पाँच जिल्लाको अवलोकन गर्ने अवसर पाएँ । चितवन, मकवानपुर, कपिलवस्तु र रुपन्देही लगायतका अधिकांश जिल्लाका विद्यालयमा सामान्य स्वास्थ्य मापदन्ड पनि अपनाइएको छैन ।’ उनले भने, ‘केटाकेटीको के कुरा गर्नु । शिक्षक शिक्षिकाले नै सामान्य मास्क समेत लगाएको भेटिएन् ।’

काठमाण्डौ लगायतका शहरी क्षेत्रमा अनलाईन मार्फत पठनपाठन सुरु नगरिएको पनि होइन । तर, इन्टरनेटमा पहुच नभएका विद्यार्थीलाई त्यो योजनाले समेट्न सकेन । अपवाद् बाहेक नेपालमा विद्यालय तहमा अनलाईन कक्षा प्रभावकारी हुन नसक्ने देखियो । त्यसैले भौतिक उपस्थितिमा नै पठनपाठन गराउनु बाध्यकारी बन्यो । अधिकतम स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन गर्नु नै उपयुक्त विकल्प भए पनि त्यसो हुन सकिरहेको छैन । सरकारको स्वास्थ्य मापदण्ड सम्बन्धी निर्देशिका पनि छ । कार्यान्वयन गर्न सरकारले निर्देशन दिइरहेकै छ । तर, सम्वन्धित निकायको अनुगमन प्रभावकारी नहुदा विद्यालयले आफुखुशी गरेका छन् । ललितपुर महानगरका प्रवक्ता राजु महर्जन भन्छन् ‘विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न निर्देशन दिएका छौ । अटेर गरे विद्यालय नै बन्द गर्छौ’ ।

यसमा अविभावकको पनि कहिँ न कहिँ त्रुटि देखिन्छ । आफ्ना बालबच्चा अध्ययन गर्ने संस्थाले कसरी पठनपाठन गराइरहेका छन् भन्नेमा चासो नराख्दा विद्यालयलाई हेलचेक्रयाँइ गर्न वल मिलेको छ ।
अविभावक विनिता मोक्तान भन्छिन्, ‘स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने भनियो, सुरु सुरुमा मास्क अनिवार्य लगाउनु पर्छ भनियो, सेनिटाईजरको प्रयोग अनि फेस सिल्ड प्रयोग गर्न भनियो । सबै विद्यार्थीलाई टाढा टाढा राखेर पढाउने गरिएको थियो र आफु पनि ढुक्क भएर बच्चाहरुलाई स्कुल पठाईयो तर अहिले न मास्कको प्रयोग न सेनिटाईजर । आफुले मास्क लगाएर पठायो मास्क विनै घर फर्किन्छन । उनी भन्छिन्,‘स्कुल नपठाउदा नि पढाई विर्गेला भन्ने चिन्ता स्कुल पठाउदा कोरोना सर्ला भन्ने पिर ।’

सबै स्वास्थ्य मापदण्ड अपनाउन बारम्बार निर्देशन दिए पनि कतिपय विद्यालयले अटेरी गरि रहेको राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसयिसन नेपालका अध्यक्ष रीतुराज सापकोटा स्वीर्काछन् । उनी भन्छन्, ‘राज्यले जसरी अनुशासनको कारवाही गर्न हामी सक्दैनौं र मिल्दैन पनि । विद्यार्थीको स्वास्थ्य प्रति विद्यालय र अभिभावक समेत सचेत हुन जरुरी छ । शिक्षा मन्त्रालयले पनि यस विषयमा चासो देखाउनुपर्ने हो । एन प्याव्सन मातहतका विद्यालयलाई हामी फेरी पनि निर्देशन दिन्छौ र सचेत गराउछौ ।’

सत्र महिनाअघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले छोटो समयमा महामारीको रुप लियो । नेपालमा पनि कोरोना संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ देखि लकडाउन जारी गर्यो । पटक–पटक गरी ८ महिनाभन्दा लामो लकडाउनका कारण मुलुकको समग्र अर्थतन्त्र त खस्कियो नै । शैक्षिक क्यालेण्डर पनि निकै प्रभावित भयो । परीक्षा तयारी गरिरहेका विद्यार्थी घरमै थुनिन बाध्य भए ।
नेपालमा खोप अभियान चलिरहेको भए पनि १८ वर्षमुनीकालाई खोप लाउने कुनै कार्यक्रम छैन । यसले पनि विद्यालय तहका वालवालिका र विद्यार्थीको स्वास्थ्य अझ जोखिममा रहने देखिएको छ । यसतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान दिनु आवश्यक देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *