अन्य सबै उपाय अपनाउन तयार छौं–स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । आज काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने स्पष्ट पारेका हुन् ।
लकडाउन अघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको उनले बताए । लकडाउन कोभिड नियन्त्रण गर्न सहयोगी हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनको भनाइ छ ।
छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण सुरु गरेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै, सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै उनले कोभिडका कारण आतंकित नहुन पनि सबैसंग आग्रह गरे ।
अहिले विश्वभर ८१ प्रकारका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको जानकारी दिए । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान भोलीबाट सुरु हुने पनि उनले बताए ।
Leave a Reply