अतिरिक्त रकम लिएर कोरोना रिपोर्ट पोजेटिभ आएपनि नेगेटिभ बनाइदिने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज बिनोद यादव निलम्बित भएका छन् । उनलाई बुधबार अस्पताल प्रशासनले सेवाबाट निलम्बन गरेको हो । ग्लोबल टेलिभिजनसंग कुरा गर्दै अस्पतालका निर्देशक चन्द्रमणि अधिकारीले यादवलाई निलम्बन गरी थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
यस बिषयमा थप अनुसन्धान भैरहेको र यादवलाई कस्तो कारवाही गर्ने भन्ने बिषयमा सञ्चालक समितिको बैठकबाट निर्णय गरिने निर्देशक अधिकारीले जानकारी दिए । ल्याब इन्चार्ज यादवले एक जना युवासंग पीसीआर पोजेटिभ आए पनि थप दुई हजार रुपैयाँ लिएर रिपोर्ट नेगेटिभ बनाइदिने बताएका थिए । ती युवासंग बार्गेनिङ गर्दै गरेको भिडियो सहितको रिर्पोट ग्लोबल टेलिभिजनले प्रशारण गरेको थियो । यादवको कर्तुतको बिषयमा ग्लोबल टेलिभिजनबाट समाचार सम्प्रेषण भएपछि अस्पताल प्रशासनले उनीमाथि निलम्बन गरी अनुसन्धान थालेको हो ।
Leave a Reply