असारसम्ममा तीन लाख संक्रमित हुने स्वास्थ्य मन्त्रालयको अनुमान

 ग्लोबल टिभि           0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारसम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोरोना संक्रमण देखा पर्ने अनुमान गरेको छ । मन्त्रालयले नेपालमा पनि कोभिड–१९ को ‘यूके भेरियन्ट’को संक्रमण देखा परेको भन्दै तीन महिनामा संक्रमण दर उच्च हुने अनुमान गरेको हो ।

बिहीबार अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमासचिव लक्ष्मण अर्यालले ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने अवस्था आउने बताए । ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्ने अनुमान छ ।

सोहीअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए । ‘यो बीचमा हामीले कोभिडका लागि गरेको ६४९ आधारभूत अस्पतालमा बेड चलाएका छौँ’, उनले भने, ‘करिब ५०० जति आईसीयू बेड र ४०० भेन्टिलेटर थप गर्यौँ । यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौँ ।’

सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौँका अस्पतालमा आएका कोरोना संक्रमितको स्थिति छिटो क्रिटिकल अवस्थामा पुगेको देखिएको बताए ।‘पछिल्लो अवस्थामा टेकु हस्पिटल, पाटन हस्पिटललाई हेर्दा बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने गरेको पाइएको छ’, उनले भने, ‘पहिलो दिनमा उनीहरू जनरल बेडमा हुन्छन्, दोस्रो दिनमा अक्सिजनमा जान्छन्, तेस्रोमा आईसीयूमा, चौथोमा भेन्टिलेटर र एक दुई दिनभित्र बिरामी मरिरहेको अवस्था छ ।’

स्वास्थ्य मन्त्रालयले गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भए पनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब आठ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *