जीवन खड्का । कोरोना महामारीको दोस्रो लहर सुरु भएर स्थिति भयावह हुने देखेपछि सरकारले भोलिदेखि काठमाडौं उपत्यका लगायतका मुख्य शहरमा निषेधाज्ञा जारी गर्ने भएको छ । गत बर्ष कोरोना संक्रमणको रोकथामका लागि चैत्र ११ गतेदेखि लकडाउन भएको थियो भने भदौ ४ देखि एक महिना सम्म निषेघाज्ञा जारी गरिएको थियो । अहिले कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि फेरि सरकारले निषेधाज्ञा जारी गर्न लागेको हो । बैशाख १६ गते देखि १ साताका लागि निषेधाज्ञा हुने भएको छ । एक साताको निषेधाज्ञाले कोरोना चेन ब्रेक गर्न नसकिने भएकोले अर्को एक साता लब्याउन मन्त्रिपरिषद् बैठकले निर्देशन दिएको छ ।
अहिले नेपालमा २६ हजार २ सय २५ जना सक्रिय संक्रमित छन् । हालसम्म ३ लाख ७९ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै, ३ सय १५ जना आईसीयू, ८४ जना भेन्टिलेटर, २ हजार ८ सय ७३ जना विभिन्न अस्पतालमा उपचाररत छन् । २३ हजार ३ सय ५२ जना संक्रमित घरमै उपचाररत छन् । दक्षिण एसियाली मुलुक भारत यतिबेला कोरोना संक्रमणको हब बनेको छ । कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएपछि भारतमा स्थिति भयावह बनेको छ ।
त्यहाँ कोरोनाबाट मृत्यु हुने र नयाँ संक्रमित थपिनेको दिनहुँ नयाँ रेकर्ड बनिरहेको छ । भारतमा गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ । कुल संक्रमितको संख्या १ करोड ६२ लाख भन्दा बढी छ । भारतमा कोरोना संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।
युरोपमा कोरोना भाइरसको दोस्रो लहर असोजबाटै सुरु भइसकेको थियो । इटाली, जर्मनी, फ्रान्स र स्पेनमा कोरोनाको दोस्रो लहर आएको ८ महिना बढी भैसकेको छ । कोरोनाको पहिलो चरण नियन्त्रणमा ल्याएसँगै जर्मनीले लकडाउन खुकुलो पारेको थियो । जर्मन नागरिक सामान्य जीवनमा फर्कन थालिसकेका थिए । तर, दोस्रो लहर सुरु भएपछि जर्मनीमा अत्यावश्यक बाहेकका काम र रात्रिकालीन गतिविधिलाई रोक लगाइएको थियो ।
युरोपेली मुलुकमा कोरोनाको दोस्रो लहरबाट न्युजिल्यान्डले भने स्थितिलाई नियन्त्रणमा लिएको छ । आम नागरिकले कोरोनाको हरेक नियम पालना गरेका कारण नियन्त्रणमा राख्न सफल भएको थियो । पहिलो चरणको समयमा त न्युजिल्यान्डमा चार महिनासम्म कोही पनि संक्रमित नै देखिएका थिएनन् । सोही अवस्थामा ब्राजिलको अवस्था भने दयनीय हुन पुगेको थियो ।
बिश्वका यी र यस्ता उदाहरणबाट नेपालले भने केही सिक्न नसकेको प्रष्टै देखिन्छ । कोरोनाको पहिलो लहरमा ५ महिना भन्दा बढी लकडाउन भएतापनि खास योजना बनाएर अघि बढ्न सरकार सक्षम भएन । त्यसपछि राजनैतिक खिचातानीमा एक अर्कामा कसले भिड बढी जम्मा गर्ने भन्ने होडबाजी नै चल्यो । जसको प्रतिफल यतिबेला देखिन थालेको छ । अहिले देशका अधिकांश अस्पतालहरु कोभिडका बिरामीले भरिभराउ भएका छन् भने गैर कोरोनाका बिरामीले पनि उपचार नै नपाउने अवस्था सिर्जना भैसकेको छ । यो भयावहको अवस्था नियन्त्रणमा लिन सरकार १६ गतेबाट लकडाउन गर्ने मनस्थितिमा पुगेको हो ।
त्यसो त लकडाउन आफैँमा समाधान हैन । देशमा न पर्याप्त भेन्टिलेटर छ, न त कोरोनाका बिरामीलाई राख्न सकिने अस्पतालहरुको नै निर्माण गर्न राज्य सफल भएको छ । यो भयावहको स्थितिमा सबैले आफ्ना तर्फबाट कोरोना रोकथामका लागि हातेमालो गर्दै अघि बढ्न जरुरी छ । हामी आफैँ जागरुक नहुँदासम्म कोरोना नियन्त्रणमा आउने देखिदैन । सजग रहौँ । सचेत बनौँ ।
Leave a Reply