विराटनगर । मोरङमा एकै दिन ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । एक जनाको होम आइसोलेसन र अरु आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन् ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान मात्रै पाँच जना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८ः२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । त्यस्तै झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान नोबेलमै मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।
उनका अनुसार झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ः४५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएएको छ। कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।
मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।
सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिड अस्पतालमै ज्यान गएको छ । बस्नेतका अनुसार वृद्धको मृत्यु बिहान ७ः३० बजेतिर भएको हो । उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो । विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको छ।
निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो ।
मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धाको आफ्नै घरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान मृत्यु भएको हो ।
मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको चिकित्सकले जनाएका छन्।
योसँगै प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुनेका संख्या १ सय ७७ पुगेको छ।
Leave a Reply