एक करोड डोज कोरोना खोप किन्न अमेरिका र बेलायती कम्पनीलाई पत्राचार

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

सरकारले बेलायत र अमेरिकाबाट एक करोड डोज कोरोनाविरुद्धको खोप खरिदका लागि पहल थालेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज र बेलायतको अक्सफोर्ड÷एस्ट्राजेनेका बायोटेक्नोलोजीसँग ५० लाख डोज खोप खरिदका लागि स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पत्राचार गरिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्नुपर्ने बाँकी १५ लाख ७२ हजार डोज खोप उपलब्ध गराइदिन पनि सरकारले कोभ्याक्सका ठूला दाता मुलुकहरू अमेरिका, बेलायत, जर्मनीलगायतलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार अमेरिकी विदेश मन्त्रालयका उपमन्त्री वेन्डी सेर्मनसँग गरेको टेलिफोन संवादमा पनि कोभ्याक्स सुविधाको खोप तथा जोन्सन एन्ड जोन्सनबाट खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले भारतको सेरम इन्स्टिच्युटसहित पाँच कम्पनीलाई खोप उपलब्ध गराइदिन पत्राचार गरेको थियो । तीमध्ये अमेरिकाको जोन्सन एन्ड जोन्सनबाट सकारात्मक जवाफ आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सेरमले सन् २०२१ सम्म (आगामी मध्यपुससम्म) कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि सरकारले बेलायत र अमेरिका खोप खरिदको पहल गरेको हो । भारतबाट खरिद गरिएको १० लाख डोज खोप आउन बाँकी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *