काठमाडौं । गुल्मी, विराटनगर र सुनसरीमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगेको छ ।
त्यसैगरी, विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
नोबेलमा बिहीबार बिहान इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका वृद्धको स्वास्थ्यमा समस्या आएपछि मंसिर एक गते नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बिहीबार बिहान ६ः३० बजे उनको मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार मृतकमा स्वासप्रश्वास सम्बन्धी समस्या थियो ।
धरान उपमहानगरपालिका– ११ की २९ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २७ गते कोरोना पोजेटिभ देखिएकी महिला कात्तिक ३० गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । महिलामा मृगौलाको समस्या थियो । उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।
Leave a Reply