वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी,कर्मचारी आन्दोलनमा स्वास्थ्यका १६ राष्ट्रिय संघ,संगठनको ऐक्यबद्धता

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ४, २०७७      0

काठमाडौं । आफुले खाइपाइ आएको सेवा सुबिधाको निरन्तरता र अस्पतालको पुर्ववत सेवा तुरुन्त सन्चालन हुनुपर्ने प्रमुख माग राखी आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी,कर्मचारीको आन्दोलन तिहार पर्व पश्चात् आज पनि निरन्तर रह्यो। हातमा कालो पट्टी बाँधेर १ घन्टा धर्नामा बस्नु अनि प्लेकार्ड बोकेर नाराजुलुस गर्नु अस्पतालका कर्मचारीको अहिले दैनिकी जस्तै बनेको छ।

यसलाई दैनिकि बनाउनु उनीहरुको रहर हैन बाध्यता थियो। यसरी कर्मचारीले कार्तिक २ गते देखि दैनिक नारा जुलुस सहित अस्पतालमा धर्ना दिन थालेको आज एक महिना पूरा भएको छ। आज सम्म पनि सम्बन्धित पक्षबाट कर्मचारीको मागको सम्बोधन नै नहुनु अनि बिरामिको सेवामा अनबरत खटिरहनुपर्ने स्वास्थ्यकर्मी आफ्नो पुर्वबत सुबिधा प्रप्तिका लागि लगातार आन्दोलनमा होमि रहनुपर्ने स्थिति पैदा हुनु ज्यादै दुखद कुरा हो।

तर यत्रो लामो समय सम्म आन्दोलन गरिरहेका आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीहरुले न त अस्पतालको सेवामा बाधा पुर्याएको नै देखिन्छ,न त बिरामीलाई मर्कामा पारेको। बरु बिरामिले कोभिड पहिले अस्पतालबाट पाइरहेका सेवा तुरुन्त सन्चालन हुनुपर्ने,कोभिडको नाममा अन्य सेवा बन्द गरेर बिरामिलाई दुख दिन नहुने भन्दै कर्मचारीहरु दैनिक नाराबाजी गरिरहेका देखिन्छन्।

माग सम्बोधनका लागि अस्पतालका पदाधिकारीले पहल नगरेपछि कात्तिक २५ गते स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र दिन स्वास्थ्य मन्त्रालय पुगेका उनिहरु स्वास्थ्य मन्त्री सङ्ग भेट् नभएपछि राज्यमन्त्रीसँगको भेटमै चित्त बुझाएर फर्कनु परेको थियो। भेटमा उनीहरुले आश्वासन त पाएका थिए। तर त्यो आश्वासन आज सम्म पनि पूरा हुन नसक्दा कर्मचारीहरुले अहिले थप आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका छन्।

आज प्रेस वक्तव्य मार्फत आन्दोलनरत कर्मचारीले भोलि ४ गते देखि मङ्सिर १२ गते सम्मको आन्दोलन कार्यक्रम सार्बजनिक गरेका हुन्। नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य भन्छन्, ‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका थियौं। तर अहिलेसम्म पनि मागको सुनुवाइ भएन त्यसैले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेका हौं, यो न्याम्स पदाधिकारी र स्वास्थ्य मन्त्रालयको अकर्मण्यताको कारण हो।’

भोलि बाट वीर अस्पतालमा पदाधिकारीलाई प्रवेश निषेध गर्ने देखि तत्काल माग सम्बोधन नभए पदाधिकारीको कार्यकक्षमा तालाबन्दी सम्म गरिने अबको कार्यक्रम रहेको उनले बताए। पहिले झैं नयाँ कार्यक्रम बाहेक प्रत्येक दिन नारा–जुलुस सहितको धर्ना दिने कार्यक्रम भने यथावत् रहेको तर धर्नाको समय भने १ घन्टा थपिएको उनले जानकारी दिएका छन्।

जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधि खरिद खर्च लगायत यसअघि पाउँदै आएको सुविधा भुक्तानी गर्नुपर्ने र अस्पतालको पुर्बबत सेवा तुरुन्त सन्चालन हुनुपर्ने लगायत उनीहरुको माग यथावत छ। वीर अस्पतालका कर्मचारीहरुको आन्दोलनप्रति बुधबार नै स्वास्थ्यका १६ वटा राष्ट्रिय ट्रेड युनियन तथा पेशागत संघ–संगठनले समेत ऐक्यबद्धता जनाएका छन्।

ऐक्यबद्धता जनाउनेमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल ,नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन, हेल्थ असिस्टेन्ट संघ, नेपाल फार्मेसी संघ, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल, नेपाल फिजियोथेरापी संघ, नेपाल स्वास्थ्य प्राबिधिक संघ लगायत छन्।

बिज्ञप्तिमा बिना शर्त सरकारले वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मी,कर्मचारीको माग सम्बोधन गर्नुपर्ने उल्लेख छ। अन्यथा ब्यबस्थापकले गम्भीर संकट भोग्नुपर्ने अबस्था सिर्जना हुने उनिहरुको दावी छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *