दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १०, २०७८      0

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले कोभिड १९ को नयाँ भेरिएन्ट पत्ता लगाएका छन् ।

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले नयाँ भेरिएन्ट पत्ता लागेसँगै यसको सम्भावित प्रभावबारे अध्ययन भइरहेको जनाएका छन् । बी.१.१.५२९ नाम दिइएको उक्त प्रजाति पत्ता लागेपछि वैज्ञानिकले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

नयाँ भेरिएन्ट धेरै संक्रामक हुनसक्ने र यसको शरीरको प्रतिरक्षा क्षमतालाई कमजोर तुल्याउने वैज्ञानिकहरूको भनाइ छ । उक्त भेरिएन्ट यसअघि नै बढी जनघनत्व भएका अन्य अफ्रिकी सहरमा फैलिएको जनाइएको छ । इजरायलमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको जनाइएको छ ।
दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्रोफेसर टुलियो डे ओलिभेरा भन्छन्‚ ‘यसमा धेरै उत्परिवर्तन छन् । यो उत्परिवर्तनको असामान्य समूह हो र अन्य भेरियन्टभन्दा निकै पृथक् हो ।’
उनले यो नयाँ भेरिएन्टले निकै अचम्भित तुल्याएको बताए । उनले थपे‚ ‘यो हाम्रो अपेक्षाविपरीत ठूलो परिवर्तन हो ।’

मिडियासँग कुरा गर्दै प्राध्यापक डी ओलिभेराले यसमा कुल ५० म्युटेसन भएको र स्पाइक प्रोटिनमा ३२ भन्दा बढी उत्परिवर्तन भएको बताए ।

यस प्रकारको गम्भीरतालाई ध्यानमा राख्दै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार राज्यहरूलाई दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानाबाट आउने वा जाने यात्रुको कडाइका साथ जाँच गर्न र परीक्षण गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सचिव राजेश भूषणले राज्य र केन्द्र शासित प्रदेशहरूलाई लेखेको पत्रमा भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले सरकारलाई ‘बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा नयाँ भेरिएन्ट’ भएको जानकारी दिएको बताए ।

स्वास्थ्य मन्त्रालयले निर्देशन दिँदै ती ठाउँबाट आएका अन्तरराष्ट्रिय यात्रुहरूसँग सम्पर्कमा आएका सबैलाई नजिकबाट ट्र्याक र परीक्षण गर्न पनि भनेको छ । यसै वेला बेलायतले नयाँ संस्करणबारे चेतावनी दिँदै ६ वटा अफ्रिकी देशबाट आउने उडानहरूमा प्रतिबन्ध लगाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *