चिकित्सकको लापरबाहीका कारण शल्यक्रिया गर्दा विराटनगरमा एक जना महिलाको मृत्यु भएको छ । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् ।
बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् ।
चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् ।
क्लिनिकमा पित्तथैलीमा भएको पथरी झिक्न शल्यक्रिया गरेकी महिलाको उपचारको क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
अवधनारायण मेमोरियल क्लिनिकले शल्यक्रिया गर्दा लापरबाही गरेको उनीहरुको आरोप छ ।
सजना गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएकी थिइन् । उनको सोही दिन शल्यक्रिया भएको थियो । तर शल्यक्रिया पछि उनको अवस्था जटिल बन्दै गयो । क्लिनिकमा आईसीयूसहित अत्यावश्यक सेवा नभएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
Leave a Reply