चार लाख उनन्तिस हजार बढीले लगाए कोभिड–१९ विरुद्धको खोप

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन २०, २०७७      0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सम्ममा ४ लाख २९ हजार ७ सय ५ जनाले कोरोना विरुद्धको खोप लगाएको जनाएको छ । माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको हो । अभियान सुरु भएको एक महिना ४ दिनको अवधिमा ४ लाख २९ हजार भन्दा बढीलाई खोप दिइएको हो ।

पहिलो चरणको अभियान अन्तरगत स्वास्थ्यकर्मी, सफाइकर्मी, संचारकर्मी, शव व्यवस्थापक, एम्वुलेन्स चालकलाइ खोप लगाइसकिएको छ । त्यस्तै, महिला स्वास्थ्य स्वयमसेविका, कैदी, बृद्धाश्रममा रहेका व्यक्ति, निजामति तथा बैंक कर्मचारी, जनप्रतिनिधि, सांसद, मन्त्री, राजनीतिक दलका नेता लगायतले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।

दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० दिन सम्म चल्ने अभियानमा २ करोड १६ लाख व्यक्तिलाई खोप लगाउने लक्ष्य छ ।
दोस्रो चरणमा ५५ वर्ष माथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई खोप दिइने छ ।

पहिलो १० दिनसम्म ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप दिइने जनस्वास्थ्यविद् डा. रमेश आचार्यले बताए । ‘उनीहरुको रोग प्रतिरोधात्मक क्षमता अन्य व्यक्तिको तुलनामा कम हुने भएकाले संक्रमण हुने सम्भावना पनि उच्च रहन्छ । त्यसैले जेष्ठ नागरिकलाई दोस्रो अभियानको पहिलो प्राथमिकतामा राखिएको हो ।’ उनले थपे ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले अहिले दिइएको खोप प्रभावकारी देखिएको बताए । पहिलो मात्रा खोप पाएका व्यक्तिलाई ८ हप्ताको फरकमा दोस्रो खोपको मात्रा दिइने उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भएकोले निर्धक्क भएर खोप लगाउन ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेलको अनुरोध छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *