काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए। यस्तो छ नेता जोशीले जारी गरेको विज्ञप्ति
पूर्व उद्योगमन्त्री, काठमाडौँ क्षेत्र नं. ८ का पूर्व सांसद् एवम्
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष श्री नवीन्द्रराज जोशीद्वारा सुरु गरिने
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का नागरिक लक्षित चिकित्सकीय परामर्श कार्यक्रम बारे
प्रेस वक्तव्य
आज फेरि पत्रकार साथीहरुलाई तपाइँंहरुले महामारीको बेलामा गर्नु भएको योगदान तथा आमनागरिकको स्वास्थ्य र दैनिक जीवनमा देखिएका कठिनता र समग्र देशका लागि गर्नु भएको चिन्तन तथा क्रियाशीलताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु । त्यस्तै महामारी संग जुध्न विशेषतः स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अग्रभागमा खटिएर काम गर्ने सबैले देखाउनु भएको प्रतिबद्धता र सक्रियता, जसलाई हामीले अनुभव गरिराखेको छौँ, त्यसका लागि धन्यावाद ज्ञापन गर्दछु ।
कोरोना भाइरसको संक्रमण देशव्यापीरुपमा नै दु्रतगतिमा बढी रहेको छ । काठमाडौँ उपत्यकामा यसको प्रसार अझ तीव्रगतिमा भइराखेको छ । जाडो मौसम सुरु हुन लागेकाले कोरोना भाइरसको प्रसार र यसले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव अझ धेरै बढ्ने अनुमान विज्ञहरुले गरेका छन् । अतःआगामी दिनमा कोरोनाका कारणले अझ धेरै जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीमा नेपाललाई तयारी गर्ने यथेष्ट समय हुँदाहुँदै पनि सरकारको अकर्मण्यताका कारण नेपालमा संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । जनतालाई राहत नदिइकन गरेको लामो लकडाउनको कारण आमनागरिक संकटको भूमरीमा छन् । प्रत्यक्षरुपमा देशको ३० अर्ब भन्दा बढी खर्च गर्दा पनि जनचेतना, परीक्षण, कन्ट्याक्ट ट्रेसिंग, आइसोलेसन केन्द्र निर्माण, अस्पताल व्यवस्थापन लगायतका काम नगरेर आर्थिक अनियमितता तथा गुटगत झगडामा यो सरकार अल्मलिएको छ । एकातिर अस्पतालका बेड भरिएका छन्, आइसीयु खाली छैनन्, संक्रमितले उपचार पाउने सम्भावना घट्दै गएको छ भने अर्कोतिर सरकारको गुटगत स्वार्थ र विवादले देश र जनतालाई जोखिम स्थितिमा ल्याएको छ ।अहिले देशमा ३ वटा सरकार क्रियाशील छन् । यी तीनै तहका सरकारका अधिकार र जिम्मेवारी संविधानले नै तोकिदिएको छ । यो संविधानको निर्माता मध्येको म पनि एक हुँ । आज महामारीले विकराल रुपमा मानिसहरुलाई आफ्नो चपेटामा लिएको अवस्थामा आमनागरिकले देशमा सरकार विहिन अवस्थाको अनुभूति गर्न विवश छन् । आमनागरिकका समस्यासंग निरन्तर लड्नु पर्ने सरकार आफै लडिरहेको दयनीय अवस्था छ । संक्रामक रोगको महामारीको बेला जनताको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा लिनु पर्ने सरकार पूर्णतः गैर जिम्मेवार बनेको छ । लोकतन्त्रमा नागरिकलाई यसरी बेवास्ता गर्ने छुट कसैलाई पनि हुँदैन । अतः हामी सरकारलाई खबरदारी गर्दैछौँ ।
कोरोना जस्तो महामारीको नियन्त्रण, व्यवस्थापन र यसले गर्ने क्षतिको न्यूनीकरणमा सरकार जिम्मेदार हुनु पर्ने हो तर सरकार आश्चर्यजनक रुपमा गैरजिम्मेदार र संवेदनहिन देखिएको छ । रोग र भोकबाट जीवन सुरक्षित हुनु पर्ने नागरिकको संवैधानिक अधिकार हो तर हालै सरकारले जारी गरेको “आफ्नो उपचार आफै गर्नु पर्ने” निर्देशनले संविधानको धज्जि उडाएको मात्र छैन आमनागरिकको जीवनलाई नै खतरामा पारिदिएको छ । सरकारी अस्पतालमा शैयाहरु लुकाइएका छन्, पहुँचको भरमा शैयाको सुविधा उपलब्ध गराइएको छ, निजी अस्पतालमा मध्यमवर्ग समेतले उपचार गर्न सक्ने अवस्था छैन र सरकार कोभिडको उपचारको लागि आवश्यक पूर्वाधार र मानवस्रोतको संख्या वृद्धि गर्न अनिच्छुक देखिएको छ । क्वारेन्टाइनको अवस्था दयनीय छ, अस्पतालमा भेन्टिलेटरको अभावमा मानिसले जीवन गुमाउनु परिरहेको छ । आमनागिरिकले चिकित्सकको निगरानीमा उपचार पाउने सम्भावना क्षीण बन्दै गएको छ । गरिब नागरिकले बर्षौंदेखि निःशुल्क उपचार पाएका सरकारी अस्पतालमा समेत धरौटी राखी महङ्गो शुल्क तिर्नु पर्ने, परीक्षणको शुल्क लिने तथा होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने जस्ता क्रुर तथा निर्दयी निर्णय गरेर सरकार दायित्वबाट पन्छिएको छ ।
विगत ७ महिनादेखिको लकडाउनले आर्थिक शिथिलता आई जनताको रोजगारी गुमेको छ, व्यवसाय बन्द भएको छ, महङ्गीले आकास छोएको छ र दैनिक ज्यालादारीका सबै काम ठप्प भई रोग र भोकबाट जनता छट्पटिएका छन् । आमनागरिकको जीवन दिनप्रतिदिन कष्टकर हुँदै गइरहेको छ, यो ज्यादै चिन्ताजनक विषय हो तर मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूलजिम्मेवारी बोकेको सरकार पूर्णतः उदासीन देखिएको छ । जनताले भोग्नु परेका पीडाप्रति सरकारको यस्तो रवैया देखिनु विडम्वनापूर्ण अवस्था हो । केही उदार दाताहरुको पहलमा काठमाडौँको टुँडीखेलमा खुवाउँदै आएको खाना सडक फोहर हुन्छ र सरकारको बेइज्जत हुन्छ भन्ने हास्यास्पद तर्क दिएर का.म.न.पा.का मेयरको ठाडो आदेशमा बन्द गरिएको छ । यो घटनाले पनि सरकार कुन हद सम्म गैरजिम्मेदार र संवेदनाशून्य छ भन्ने स्पष्ट पार्दछ । सरकारका यी रवैया भत्र्सना योग्य छन् । यो संकटको घडीमा आमनागरिकलाई राहत र सहुलियत प्रदान नगर्नु तथा सम्पूर्ण उपचारको जिम्मा नलिनु संविधान, लोकतन्त्र, जनस्वास्थ्य, मानवता र लोक कल्याणकारी राज्यको विरुद्ध हो ।
अतः सरकारका यी र अन्य धेरै यस्ता गैर संवैधानिक र गैर मानवीय क्रियाकलापका विरुद्ध सशक्त आवाज उठाउँदै र आ–आफ्नो ठाउँबाट सुरक्षाका उपायहरु अवलम्बन गर्दै आफ्नो घर, परिवार र समाजमा कोरोनाको प्रसार नियन्त्रण गर्न तथा कोभिड–१९ को प्रभाव कम गर्न योगदान गर्नु हाम्रो पनि अहिलेको सामाजिक दायित्व हो । अहिले अवस्था यति गम्भीर भइसकेको छ कि अब सरकारको मात्र मुख हेरेर बस्नु घातक हुने देखिएको छ । तसर्थ आम जनता, नागरिक समाज, सम्पूर्ण राजनीतिक दल तथा हरेक तह र तप्काले सरकारलाई दवाव दिनुको साथै आफै पनि सक्रिय हुनुको विकल्प छैन ।
१) पम्पलेट, मास्क र औषधि वितरण: सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्तीको दिन अर्थात् कार्तिक २४ गते सोमबारदेखि कोरोनाबाट बच्ने उपायको जानकारीमूलक पम्पलेट, कपडाको मास्क र सिटामोल ट्याब्लेट घरघरमा उपलब्ध गराउने छौँ ।
२) चिकित्सकीय परामर्श: कार्तिक २४ गते सोमबारदेखि नै डाक्टरहरुद्वारा फोन मार्फत कोभिड सम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउने उद्देश्यले टेलीसेन्टर सञ्चालन गर्नेछौँ । यो सेवा बिहान, दिउसो र राति गरी तीन सिफ्टमा २४ सै घण्टा उपलब्ध हुनेछ । आवश्यक परेका व्यक्तिले प्रत्येक सिफ्टका लागि उपलब्ध गराइएका फोन नम्बरमा फोन गरेर आइसोलेसनमा बस्नु पर्ने वा कुनै पनि लक्षण या समस्याका बारेमा सल्लाह र सुझाव लिन सक्ने छन् । यो टेलिसेन्टरमा दुईजना वरिष्ठ चिकित्सक डा. रवीन्द्र पाण्डे (फोन नं. ९८४७३९४५२०) र डा. भूपेन्द्र बस्नेत (फोन नं. ९८५१०५९४००)को पनि सहयोग (ब्याकअप) रहने छ ।
सिफ्ट फोन नं.
विहान ९८४७३९४४३१
दिउसो ९८४७३९४८४५
साँझ ९८४७३९४८४६
३) अक्सिमिटर वितरण: मूलतः संक्रमण भएपछि अक्सिजनको मात्रा घट्दै जाने र यसले थप जटिलता ल्याउने भएकोले आवश्यक परेका तर आफै किन्न नसक्नेलाई अक्सिमिटर (पल्समिटर) उपलब्ध गराउने छौँ । यसका लागि हाम्रा परामर्शदाता वा नेपाली कांग्रेस एकाइ सभापति वा श्री सुदर्शनमान सिंहलाई फोन गरेर प्राप्त गर्न सक्नु हुनेछ । यसरी अक्सिमिटर लिएकाहरुले काम सकिई सकेपछि अरु कुनै आवश्यक परेको घरमा दिएर वा जो संग लिएको हो सोही व्यक्तिलाई फिर्ता गरी सहयोग गर्न पनि आग्रह गर्दछौँ । आवश्यकता भएसम्म घरैमा राखेर परिवारले पनि प्रयोग गर्न सक्नु हुनेछ ।
४) आइसोलेसनमा बस्नेहरुको रेकर्ड राख्ने: हामीले आइसोलेसनमा बस्ने मानिसहरुको रेकर्ड राख्ने प्रयास गर्ने छौँ । यसका लागि सरकार र परिवारसंग आइसोलेसनमा बसेकाहरुको लिस्ट उपलब्ध गराउन अनुरोध गर्दछौं ।
५) एम्बुलेन्स प्रयोगका लागि सहजीकरण: कसैको समस्या जटिल भएमा तत्काल १०२ मा फोन गरेर एम्बुलेन्स मगाई अस्पताल जान या हाम्रा परामर्शदाताले स्वास्थ्य समस्या देखिएको व्यक्तिलाई अस्पताल जान सल्लाह दिएमा तत्काल अस्पताल जान सुझाव दिन्छौँ । यस सम्बन्धमा नेपाल एम्बुलेन्स सेवासंग आवश्यक छलफल भएको र वहाँहरुले तत्काल सेवा दिने विश्वास दिलाएको जानकारी गराउँदछौँ ।
यसबाहेक हामी सरकारसंग निम्न कार्य यथाशीघ्र गर्न जोडदार माग गर्दछौँ ।
• स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अग्रपंक्तिमा कार्यरतहरुलाई जोखिम भत्ता उपलब्ध गराउन
• श्वासप्रश्वास सम्बन्धी वार्डको तत्काल व्यवस्था गर्न
• निशुल्क परीक्षणको व्यवस्था तत्काल पुनर्वहाली गर्न
माथि उल्लेखित कार्य गर्नका लागि स्वयंसेवकहरुको आवश्यकता पर्ने भएकोले स्वयंसेवा गर्न इच्छुक चिकित्सक, स्वास्थ्यकार्यकर्ता तथा अन्य महानुभावहरुले मलाई व्यक्तिगत रुपमा ९८५१०३२०९७ मा वा सुदर्शनमान सिंहलाई ९८५१०३२५८९ मा सम्पर्क गर्न अनुरोध गर्दछु ।
जय नेपाल !
नवीन्द्रराज जोशी, संविधान सभा सदस्य
अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठान
पूर्व उद्योगमन्त्री एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मितिः १९ कार्तिक, २०७७
Leave a Reply