लक्ष्मी अधिकारी । भारतका विभिन्न राज्यहरुमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउन भनेको छ । सरकारले मातहतका निकायलाई व्यवस्थापनमा जुट्न समेत निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेश, संघीय तथा प्रादेशिक अस्पताल, स्वास्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कहरुलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।
त्यस्तै, मन्त्रालयले १० बुँदे निर्देशन दिदै यसको कार्यान्वयनमा तदारुकता देखाउन समेत मातहतका निकायलाई पत्राचार गरिसकेको छ । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्कनेको संख्यामा वृद्धि भएको छ । मन्त्रालयले भारतसँग सीमा जोडिएका क्षेत्रमा अवस्थित हेल्थ डेस्कलाई नेपाल प्रवेश गर्नेहरुको ज्वरो परीक्षण गर्न निर्देशन दिएको छ ।
परिक्षण रिपोर्ट पोजेटिभ आएमा स्वस्थ्य संस्था र अस्पतालसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड–१९ को व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम उपचार व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ ।
मन्त्रालयले एन्टिजेन परीक्षणमा पोजेटिभ आएकालाई स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गरी अघि बढ्न पनि भनेको छ ।
त्यस्तै, सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन समेत मन्त्रालयले निर्देशन दिएको छ । आफ्नो पालिकामा संक्रमणको उच्च खोजिम क्षेत्र पहिचान गरि समुदायस्तरमा कोभिड–१९ को एन्टिजेन परीक्षण प्रक्रिया सम्बन्धी प्रोटोकल अनुसार व्यवस्थापन गर्न समेत सबै पालिकालाई भनिएको छ ।
यसैबीच मंगलबार १८८ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ ।
Leave a Reply