किम्फ आजदेखि सुरू हुँदै

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १६, २०८१      0

जेठ १६ –  काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औं संस्करण बुधबार (आज) देखि राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सुरू हुँदैछ।  दिउँसो राष्ट्रिय सभागृहमा उद्घाटन समारोहसँगै इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरबाट किम्फ सुरू हुनेछ।

अधिकांश भाग नेपालमा छायांकन गरिएको १ घण्टा ३४ मिनेटको यो वृत्तचित्रमा बाघको बच्चालाई सिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथालाई देखाइएको छ। यो इटाली र नेपालको संयुक्त प्रोजेक्ट हो।  जेठ २० गते आइतबारसम्म चल्ने किम्फमा नेपालसहित २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्। किम्फ २०२४ को नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ राखिएको छ।

किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन्। यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत हुनेछन्। यस संस्करणको एउटा मुख्य आकर्षण ‘बाइ दोज हु व्हेयर देअर  १९२१, १९२२, १९२२, १९२४’ शीर्षकमा फिल्मसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ फोटाहरू तथा कथानकको प्रदर्शनी समेत रहेका छन्।

यसपटक निर्णायकमण्डलमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), फिल्म सम्पादक रेजिना बर्त्स्की (स्वीटजरल्यान्ड) रहेका छन्। निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरामामा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनौट गर्नेछ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिने छ। नेपाल पानोरामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले क्रमशः  एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। यसैगरी दर्शक पुरस्कारको राशी एक लाख रूपैयाँ छ।

फिल्म निर्माता, फिल्मप्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थितिमा अन्तरक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनी गरिनेछ। क्लोजिङ फिल्मका रुपमा टाशी ल्हाजोम निर्देशित डकुमेन्ट्री ‘नो मोनास्ट्ररी, नो भिलेज’ को विशेष प्रदर्शन गरिनेछ।  गैरनाफामुखी संस्था किम्फ फाउन्डेसनद्वारा आयोजित यस महोत्सवको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *