नेपाली हरर फिल्म कठपुतलीलाई अमेरिकामा ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’

 ग्लोवल टि.भी.      बुधबार, अशोज २०, २०७८      0

अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा नेपाली हरर फिल्म ‘कठपुतली’ले दुई वटा महत्त्वपूर्ण अवार्ड जितेको छ।

सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो।

फेस्टिभलमा उक्त फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो। हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’अमेरिकाको ओटीटी प्लाटफर्ममा आधारित छ।

सो फेस्टिभलमा जम्मा चार वटा फिल्मले यो अवार्ड जितेका छन्। यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटीटी प्लाटफर्मले फिल्म रिलिजका लागि अफर गर्नु हो।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने सपना अन्ततः पूरा भएको भन्दैफिल्मले दुई वटा अवार्ड जितेकोमा निर्माता पृथ्वी रानामगरले खुसी व्यक्त गरेका छन्। साथै यसका लागि उनले २० वर्षदेखि यात्रा सुरु गरेको र कयौं पटक निराश पनि भएको तर फिल्म निर्माणको जोश कहिल्यै कम नभएको बताएका छन् । यो अवार्डले फिल्म निर्माणमा थप हौसला दिएकाले अवस्था सामान्य बन्दै गएकाले आगामी पुस–माघसम्म फिल्मलाई नेपालमा रिलिज गरिने निर्माता मगरले बताए।

यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँदै फिल्मका निर्देशक भीमसेन लामाले यो सफलताका लागि आफूलाई विश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताएका छन्।

पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डननको स्टुडियोमा भएको यो फिल्म प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ।

सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *