प्रहरी अनुसन्धानमाथि नागरिक विश्वसनीयता

 ग्लोबल टिभि      बुधबार, असार २३, २०७८      0

प्रहरी नागरिकको सुरक्षा पहरेदार हो। उसको उपस्थितिले नागरिकमा सुरक्षाको प्रत्याभूति सुनिश्चित हुन्छ र हुनुपर्छ नै । तर,प्रहरीको अपराधमाथिको अनुसन्धानप्रति नागरिकमा भरोसा र विश्वास त्यत्ति देखिदैन । प्रहरीको अध्ययन र अनुसन्धान गर्ने प्रक्रियाहरु पनि आफ्नै पद्धति र प्रणालीबाट हुन्छन् र हुनुपर्छ पनि, प्रक्रियागत ढंगबाट प्रहरी अनुसन्धानमा जुट्छ पनि ।तर, प्रहरीको अनुसन्धानमा नागरिकले धैर्यता र भरोसा राखेको पटक्कै देखिदैन । किन मानिसहरु प्रहरी अनुसन्धानमा ढुक्क हुन नसकेका होलान् यो प्रश्न निकै सोचनीय र संगीन छ। यसको अन्तर्य भनेको नै विगतका धेरै घटनाहरुमा प्रहरीले आफूलाई अब्बलरुपमा उभ्याउन नसक्नु नै हो ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीले दोषीलाई नियन्त्रणमा अझै लिन नसक्दा पनि प्रहरीले नागरिक विश्वास गुमाउदै गएको हुनुपर्छ । विगतका अनुभवले के सिद्ध गरेको छ, भने घटनाको अध्ययन र अनुसन्धानमा प्रहरी जुट्छ, तर, कुनै नै कुनै अमूक शक्तिको प्रभावमा पर्ने र अनुसन्धानलाई कमजोर पार्ने गरिएकोले नागरिकमा भरोसा र विश्वास बलियो नभएको पक्कै हो । शक्तिको आडमा घटनालाई विषयान्तरण गर्ने र पीडकलाई उन्मुक्ति दिने गरिएका तथ्य भएकै कारण सडकमा भीड जबरजस्त खडा भएको हुनुपर्छ । प्रहरी स्वतन्त्र निकायको रुपमा घटनाको गम्भीर अध्ययन र अनुसन्धान गर्दाे हो त, सडकमा प्रदर्शन हुने थिएनन् होला ।

त्यसैको पछिल्लो संस्करण सुजिता मृत्यु प्रकरण हो । सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले गाम्भीर्यता नदेखाएकै कारण स्थानीय आगो बनेर सडकमा ओर्लिएका हुन् । घटना नघट्नु थियो, घटीसक्यो, घटित घटनाको सत्य तथ्य बाहिर ल्याएर संलग्न कोही भए कारबाही हुन्छ, भन्ने विश्वास प्रहरी देखाउन नसकेकैले चितवनमा मानिसहरुले सडकमा आगो बालेका हुन् । सडकको आक्रोशलाई थेग्न नसकेपछि स्थानीय प्रशासनले कफ्र्यू लगाउनुपर्ने अवस्था आएको हुनुपर्छ ।मृतकका आफन्तलाई प्रहरीले भरोसा र विश्वास दिलाउन नसक्दा नै सडकमा प्रहरी ओराल्न स्थानीय प्रशासन बाध्य भएको हुनुपर्छ ।होइन, भने घटनाको गाम्भीर्यतालाई प्रहरीले मनन् समयमै किन गरेन त ?

पछिल्लो सुजिता भण्डारी मृत्यु प्रकरणले प्रहरीमाथि थप प्रश्न गर्न स्पेश दिएको छ । २०७५ श्रावण १० मा निर्मला बलात्कार हत्या प्रकरणपछि प्रहरीले आफ्नो साख गुमाउँदै गएको छ। प्रहरीप्रति नागरिकको जति भरोसा र विश्वास हुनुपर्ने हो, त्यो क्रमश घट्दोक्रममा छ। त्यसको सीधा जवाफ सुजिता मृत्य प्रकरणले मुखभरि जवाफ दिएको छ। सुजिता अपहरणमा परेको निवेदन प्रहरीमा पुगेपनि प्रहरी किन सक्रिय भएन त ? यही प्रश्नले प्रहरीमाथि थप आशंका भएको हुनुपछ र नागरिकले सडकको साहरा लिएको हुनुपर्छ । निर्मला पन्तको बलात्कारपछि हत्याका जघन्य अपराधले नागरिकलाई पटक पटक झस्काउने गरेको छ। निर्मला, सम्झना, भागरथीपछि सुजिताको मृत्यु प्रकरणले समाज कति असुरक्षित छ,भन्ने तथ्य उजागर गरेको छ।

सुजिताको हत्या या आत्म हत्या के हो ? यसको कुनै तथ्य बाहिर नआउदै फेरि पूर्वी नवलपरासीमा विना सापकोटा बेपत्ता भएको भन्दै आफन्तले प्रहरीमा खोजविन गर्न जाहेरी दिएका छन् । यी दृष्तान्तले के पुष्टि गर्दछन् भने, छोरीहरु यो समाज दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन् । अनेकन जालझेल र भ्रमको पासोमा पर्छन् र अन्तमा बलात्कारपछि हत्याको नियती भोग्न विवश हुन्छन् । आखिर यस्तो नियती पटक पटक किन दोहोरिन्छ ? के राज्यका सुरक्षा संयन्त्रहरुसंग गतिलो जवाफ छ ? कलिलो उमेर भविष्यको सुन्दर सपना देखेका ती अबोला छोरीको यसरी कत्लेआम हत्या हुँदा राज्यका कानुनका दस्ताबेजहरु निष्काम किन भईरहेका छन् ?हाम्रो  यो प्रश्न राज्यसंग छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *