मौलाउदै, अवैध नेटवर्किङ धन्दा

 ग्लोवल टि.भी.      शनिबार, साउन २, २०७८      0

महामारीको कारण रोजगारी खोसिएको छ, उत्पादनको दर घट्दो छ, आर्थिक संकटले दैनिकी जीवन कष्टकर बन्दै गएको छ। यस्तो संकटको बेला नेटवर्किङ धन्दा मज्जाले चलिरहेको छ। क्रिप्टो करेन्सी मोडलमा कारोबार गर्न कानुनले रोक लगाएको छ। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ तथा नियमावली, २०७६ ले इजाजत नलिई यस्ता धन्दा गर्नमा रोक लगाएको छ। शुल्क मात्र लिने गरी पिरामिडमा आधारित नेटवर्किङ व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । यसको साथै उपभोक्ता संरक्षण ऐन, २०७५ ले पनि रोक लगाएको छ। यद्यपि यस्तो धन्दा गरेको पाइएमा दण्डनीय हुने प्रष्टसंग भनेको छ। तर, सञ्जाल र जुम मिटिङको माध्यमबाट सर्वसाधारणबाट पैसा असुलीको धन्दा चलिरहेको छ।

यस्तो धन्दामा हाइपर फन्ड ग्लोबल, जोसियल, सीआरयू, विन्टर, क्राउड वान, सोलम्याक्स, पोइन्ट आदि छन् ।यस्ता नेटवर्किङ धन्दाको विषयमा स्वदेशी तथा विदेशी व्यक्ति÷फर्म एवं कम्पनीहरु संलग्न रहेको विभागमा परेको उजुरीले प्रष्ट्याँउछ । क्रिप्टो करेन्सी मोडलमा सर्वसाधारणलाई प्रलोभनमा पैसा असुली गरिरहेको उजुरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पुगेको पनि छ । विभागमा उजुरी परेपनि कोही कसैलाई कानुनी कारबाही भएको खबर बाहिरएको छैन । यसरी नेटवर्किङको माध्यमबाट इजाजतविना चलाइएका व्यवसाय कानुनी रुपले अवैधानिक मात्रै होइनन् , नेपाली मुद्रा समेत विदेश पलायन भइरहेको छ। विभागका अनुसार यस्ता नेटवर्किङ व्यवसाय गर्नेहरु देशभर डेढ सय भन्दा बढी रहेको अनुमान छ। खासगरी सरकारले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङलाई वैधानिकता दिन खोजेपछि अहिले ठगी गर्ने गिरोहहरु सक्रिय भएका हुन् ।सरकारी तथ्यांक अनुसार यस्तो अवैध धन्दामा संलग्न भएका व्यक्रिहरु अधिकांश पूर्व कर्मचारीहरु रहेको पाइएको छ ।

निवर्तमान ओली नेतृत्वको सरकारका उद्योग मन्त्री लेखराजभट्टको पालामा नेटवर्किङ व्यापारलाई खुला गर्ने प्रयास गरिएपछि यस्ता ठगी गिरोह झनै सक्रिय भएको देखिन्छ । विभागको गत वर्षको तथ्यांक मात्रै हेर्ने हो,भने पनि ३५ भन्दा बढी उजुरी परेका थिए । विभागमा उजुरी परेपछि विभागले आरोपित कम्पनी र व्यक्तिको नाम केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा पठाएको थियो । सीआइबी सम्म यस्ता उजुरी दर्जनौ परेपनि कारबाही भएको देखिएको छैन । विभाग र सीआइबीको निष्कृयताले यस्ता नेटवर्किङका कृत्य धन्दा झनै मौलाउँदै गएका हुन् । यस्ता धन्दाले सयौ मानिसहरु ठगिएका छन् कानुनको धज्जी मात्रै उडाएैको छैन, लाखौ रकम समेत विदेश पलायन भएकोले राज्यका जिम्मेवारहरु गम्भीर बन्न जरुरी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *