विरोध र स्वस्थ आलोचना लोकतन्त्रको सुन्दर पक्ष हुन् , तर, पछिल्लो समय नेपाली राजनीतिमा स्वस्थ आलोचना भन्दा घृणाको संस्कृति झाँगिदै गएको छ। न्यूनतम मानवीय मूल्यको पनि हेक्का नराखि गरिएका यस्ता आलोचना र विरोधले समाजलाई विग्रह तर्फ धकेलिरहेको छ।पछिल्लो समय राजनीतिक आवरणमा घृणाको संस्कृति मौलाएको छ।
लोकतन्त्रमा सहमत र असहमत हुन सकिन्छ, स्वस्थ आलोचना र समर्थन गर्न पाउनु नागरिक नैसर्गिक अधिकार मात्रै होइन, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर, विडम्बना विरोधका नाउँमा भइरहेका प्रदर्शनका अस्वभाविक व्यवहारले राजनीतिक घृणा र प्रतिशोधको मलजल गरिरहेको छ। राजनीतिक नेतृत्वमा भएको असहिष्णु व्यवहारको प्रतिबिम्ब सडकदेखि सञ्जालसम्म छरपस्टै भईरहेका छन् । दलीय कित्तामा मानवीय मूल्य मान्यतालाई लिलाम विक्री गर्न थालिएको छ। पद र प्रतिस्ठाको स्वार्थमा मित्रता र सहिष्णुतता पटक्कैे छैन ।जसले समाजलाई खण्डित मात्रै होइन, सामाजिक विग्रहतर्फ उन्मुख गराएको छ।
लोकतन्त्रमा सत्ता र प्रतिपक्ष हुन्छन् । राजनीतिमा पक्ष र विपक्ष हुन्छन् । दलदलबीच फरक फरक मत मात्रै होइन, एउटै दलभित्र पनि फरक मत हुन सक्छन्, त्यो हुनु लोकतन्त्रमा स्वभाविक मानिन्छ, तर, सत्ता संघर्षको दुष्परिणामले संसदको ठूलो दल एमालेभित्र चरम असहिष्णुता र घृृणाको राजनीति भइरहेको छ। एमालेमा जारी अन्तरसंघर्षमा ओली समूह निकट युवा संघको प्रदर्शनहरु त्योभन्दा पर पुगेको देखिन्छ । मंगलबारको प्रदर्शनमा सहभागीहरुले बाँदरको आकृति भएको मास्क लगाएका थिए र अदालत, गठबन्धन सरकार र माधव नेपालले बाँदरे प्रवृत्ति देखाएको भन्दै नारा लगाएका थिए । यही समूहले सोमबार सांकेतिक दाहसंस्कार गरेको थियो । त्यसअघि प्रधानन्यायाधीशसँगै नेता नेपालको पुत्ला जलाएको थियो । एमालेको महासचिव भएर १५ वर्ष पार्टी हाँकेका तथा पूर्व प्रधानमन्त्री समेत भएका नेपालप्रति युवा संघले गरेको असहमति असामान्य छ । विरोधको नाउँमा गरिएको यो तहसम्मको प्रदर्शनले घृणाको राजनीतिको संस्कार विकास भएको अथ्र्याउन थालिएको छ।
असहमति दर्ज गरेर सभ्य र स्वस्थ आलोचना र विरोध गर्न पाउने संविधानले नै सुनिश्चित गरेको छ। स्वस्थ आलोचना गर्न पाउने अधिकारलाई दुरुपयोग गर्दै मानवीय मूल्य र मान्यतालाई सिध्याउने गरि भइरहेका अबान्छित गतिविधिले लोकतन्त्रको संस्थागत विकास होइन, घृणाको राजनीतिलाई थप मलजल गर्ने पक्का हो । त्यसकारण,यसरी मौलाउदै गएको घृणाको राजनीतिले समाजलाई कता लैजाला ? के नेतृत्वले यस विषयमा सोचेको होला त ?
Leave a Reply