साझा कार्यक्रम कार्यान्वयन होस्

 ग्लोबल टिभि      शनिबार, साउन २३, २०७८      0

गठबन्धन सरकार संचालनका लागि गठित कार्यदलले तयार पारेको खाकामा स्वास्थ्यको विषय पहिलो प्राथमिकतामा परेको छ। नागरिकको जीवन रक्षा नै पहिलो प्राथमिकता रहेको भन्दै सरकारले कोरोना नियन्त्रणमा विशेष जोड दिएको छ। कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम तयार गर्दै गर्दा मुलुकमा १० हजार बढीको कोरोनाबाट मृत्यु भैसकेको छ। कोरोना विरुद्धको सरकारी तयारी र नागरिकको असावधानीले कोरोनाबाट यति ठूलो मानवीय क्षति हुन गएको हो ।

पछिल्लो तथ्यांक अनुसार कोरोना महामारीमा मृत्यु र संक्रमणको दर खासै घटेकै छैन । संक्रमण र मृत्यु दर बरु बढीरहेको छ । जोखिम ज्यूँको त्यूँ रहेको बेला सरकारले सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रमको खाका तयार गरेको छ। सरकारले ११ वटा प्राथमिकता क्षेत्रहरु तोकेरै खाका बनाएको छ ।सरकारी प्राथमिकता अनुसार नै नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र पहिलो स्थानमा परेको छ ।सरकारले क्यालेन्डर नै बनाएर चरणवद्धरुपमा खोप वितरणलाई तय गरेको छ । सरकारको कार्यक्रममा आगामी असोज भित्र एक तिहाइ र चैतभित्र सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने भनिएको छ।

सरकारको नीति तथा कार्यक्रमको ५ वटा बुँदामा स्वास्थ्यको विषयलाई निकै जोड दिइएको छ। कोरोना उपचार, कोरोना विरुद्धको खोप, फ्रन्टलाईनमा खट्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता,स्वास्थ्य पूर्वाधार, गुणस्तरीय स्वास्थ्य सामग्री, अस्पतालहरुको स्तरोन्नती र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने मुख्य प्राथमिकतामा परेका छन् । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको विषयले ओली सरकार विवादित भएको थियो । ओली सरकारले यस विषयमा छानविन नै गरेन । तर, गठबन्धन सरकारले यस विषयमा छानविन गरी दोषीलाई कारबाही गर्ने भएको छ। सरकार गठन भएको करिब महिनादिनपछि बल्लतल्ल गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ।

कार्यदलले कार्यक्रमको खाका बनाएर सरकारलाई बुझाइसकेको छ। सरकारले न्यूनतम साझा कार्यक्रमलाई आइतबार औपचारिकरुपमा सार्वजनिक गर्ने भएको छ। सरकारले तयार गरेको न्यूनतम साझा कार्यक्रमले विशेष गरी स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा गर्न सकिन्छ,तर, कार्यक्रम कार्यान्वयनको पाटोमा सरकारलाई सहज छैन ।राज्य संयन्त्रको परिचालन र व्यवस्थापनसंगै जनस्तरमा खोप अझै पुराउनुपर्ने छ। खोप आयातमा वृद्धि भएपनि वितरण केन्द्रमा हुने भद्रगोलले सरकारी योजनामाथि चुनौती उत्तिकै छ। यसर्थ सरकारले जे जे विषयहरु साझा कार्यक्रममा समाहित गरेको छ, त्यसलाई अक्षरस युद्धस्तरमा कार्यान्वयन गर्न सक्यो, भने, महामारी नियन्त्रण र रोकथाममा केही सुधार आउन सक्छ, योसंगै स्वास्थ्य सामग्री खरिदमा भएको बदमासीको सत्यतथ्य सावर्जनिक गरी दोषीलाई कारबाही गर्नसकेमा सरकारमाथि भरोसा र विश्वास अझै बढ्न सक्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *