२०७४ को संघीय निर्वाचनको परिणामले एमालेलाई मुलुकको सबै भन्दा ठूलो दलको रुपमा स्थापित गरिदियो, चुनावी नतिजालाई आधार मान्ने हो,भने एमालेप्रति नागरिकको भरोसा र विश्वास बढी हो । त्यही जनमतको आधारमा सत्तामा पुगेको एमाले यतिबेला छिन्नभिन्न भएको छ। ४१ महिने सत्ता संचालन अवधिमा पार्टीभित्रको गृहयुद्धले एमाले सग्लो रहन मात्रै सकेन, मुलुकमा अस्थिरताको कालो बादल मडारियो ।
२ पटक प्रतिनिधि सभा विघटन गरेर राजनीतिक र संवैधानिक गम्भीर गल्ती गरेका ओली सच्चिएनन्,बरु आफ्नै दलभित्रका सहकर्मीसहित विपक्षीमाथि आगो ओकलिरहे । इगो, दम्भ, प्रतिशोध र निरंकुशताको आगोले एमाले भित्र र बाहिर उत्तिकै भतभती पोल्यो, तैपनि नेपाल समूह ओलीमा दन्किएको दम्भको आगोको रापलाई सहदै आए । तर, अति भए खति हुन्छ भने झै ओलीको ज्यादतीले नेपाल समूह आजित भएको हुनुपर्छ र यसैका कारण बुधबार बाध्य भएर औपचारिकरुपमा अलग पार्टी गठन गरिएको हुन सक्छ । मुल पार्टी एमालेमा रहन सक्ने वातावरणमा ओली सधै तगारो बनेपछि नेपाल अन्ततः नयाँ घर बनाउन बाध्य भएको घाम जत्तिकै छर्लङ्ग छ।
ओली प्रवृत्तिको विरुद्ध भन्दै कांग्रेससंग सहकार्य गर्न नेपाल समूह बाध्य भएको मात्रै होइन, देउवालाई संसदमा विश्वासको मत दिन पनि नेपाल समूहले कुर्वानी गरेको पक्का हो । करिब १५ वर्ष एमालेको नेतृत्व गरेका नेपाल यति धेरै अपृय निर्णय गर्न बाध्य हुने थिएनन् होला, तर ओलीको ज्यादतीले सीमा नाघेपछि उनी आफ्नै घर भत्काउन बाध्य भए र नयाँ घरको जोरजाम गर्न जुटेका हुन् ।
यो अपृय परिस्थितिका मुख्य कारक एमाले अध्यक्ष ओली नै हुन् । उनमा एजेरु झै झाँगिएको इगो र अहंकारले एमाले सग्लो रहन मात्रै सकेन,जनताले गरेको विश्वास र भरोसामाथि तुषारापात गरिदियो । नेतृत्वमा हुने खराबीले मुलुकको राजनीति कति प्रदुषित र अस्थिर बन्छ, भन्ने तथ्य ओली प्रवृत्तिले पुनः पुष्टि गरिदिएको छ। उनमा भएको अहंकारले एमाले र मुलुकका लागि क्षति मात्रै गरेन,स्वयं ओलीका लागि आगामी राजनीतिक भविष्यमा पनि अकुंश लगाइदिएको छ। उनमा भएको दम्भले दुइ तिहाइको सरकार ढल्यो, अन्ततः संसदमा ओली एक्लिदै बालुवाटारबाट बालकोट धपाइए । गठबन्धनको मोर्चा मात्रै उनी विरुद्ध उभिएन, उनको दम्भको विरुद्धमा सर्वाेच्चले परमादेश जारी गर्दै उनलाई सत्ताको घोडाबाट खसालिदियो ।
>मुलुकले दिएको ठूलो अवसरको उपयोग गर्न सकेको भए ओली राजनेता बन्ने थिए । तर, ओलीमा अहंकारको आगो यति दन्कियो, कि एमालेलाई एउटै छातामा ओत लाग्ने ठाउँ समेत खरानी बनाइदियो र अन्ततः बुधबार एमाले दुइ चिरामा विभक्त भएको छ, दुइ नदी किनारा झै अलग –अलग भएको छ।
Leave a Reply