पीडामा राजनीति नगर

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

बेमौसमी अतिवृष्टिले छोडेर गएको घाउ आलै छ। पीडा,रोदन र चित्कारको सघन उपचारको पर्खाइमा प्रकोप पीडितहरु छन् । संगीन पीडामा रहेका उनीहरुलाई राहत र उद्दारको ओखती चाहिएको छ। राहत र उद्दारको ओखतीको प्रबन्ध गर्नु राज्यको दायित्व हो । राज्यले नै उनीहरुको पीडामा मलहम लगाउन सक्छ र लगाउनैपर्छ, तर सत्ता पक्ष र विपक्षबीच पीडाको क्षणमा सहकार्य र समन्वय हुनैपर्छ।

पीडतलाई राहत दिन र उद्दारका गर्न सबै शक्तिmएकै थलोमा उभिनुपर्छ । विपत्तिले छोडेको घाउको उपचार गर्न सत्ता भित्र र सत्ताबाहिरका शक्तिहरुबीच साझा कार्यक्रम बन्नुपर्छ, विडम्बना, त्यो चरित्रको दृष्तान्त नेपाली राजनीतिमा पटक्कै देखिएन ।दलीय झण्डा र विचार फरक फरक होलान्, त्यो लोकतन्त्रको सुन्दर चरित्र पनि हो। तर, यो विपत्तिले दुखेको घाउमा मलहम लगाउने बेला राजनीतिक कित्ताबन्दी गरिनु कदापि उचित होइन, यदि कुनै पक्षबाट त्यो व्यवहार प्रदर्शन हुन्छ, भने त्यो राजनीतिक होइन, त्यो अराजनीतिक चरित्र ठहरिनेछ।

सरकारले सुस्त सुस्त भएपनि केही औपचारिकता देखाएको छ, यद्यपि सरकारको औपचारिकता पनि अप्रयाप्त छ। तैपनि सरकारको सक्रियतालाई सकारात्मक नै मान्न सकिएला,सरकार नागरिकको अभिभावक भएकोले यस्तो बेला उसले नै पहलकदमी लिनुपर्ने हुन्छ, र लिन खोजेको पनि छ। यस्तो बेलामा सत्तापक्षसंगै विपक्षीले पनि सक्रियता उत्तिकै देखाउनु पर्ने हो, विपक्षीको पछिल्ला अभिव्यक्ति पीडितको चहराइरहेको घाउमा भन्दा सरकार र संसदप्रति रोष बढी छ। संसदीय प्रणालीमा विपक्षी भनेको नै जनताको भावना अभिव्यक्त गर्ने पहिलो पात्र हो । तर, विपक्षी पनि आफ्नै राजनीतिक स्वार्थको घेरोमा घुमिरहेको छ। जनताको आवाज बोल्ने प्रतिनिधि सभा बैठक समेत अनिश्चत बनाएको छ, एक हिसाबले संसद बन्धक जस्तै छ, संसद बन्धक बनाएर जनताको भावनालाई थुन्ने कुचेष्टा भइरहेको छ, भने विपक्षीलाई साथमा लिएर राष्ट्रिय समस्याको हल गर्नमा सरकार पनि अलमल गरिरहेको छ।

सत्तापक्ष होस् या प्रतिपक्ष,जोसुकै भएपनि पीडितलाई राहत र उद्दारको मलहम लगाउने दायित्व सबैको हो ।प्रसव पीडाको चित्कारको यो दुखद्पूर्ण क्षणमा पक्ष र विपक्षको राजनीति गर्नु पीडाको घाउलाई थप बल्झाउनु हो। यसर्थ मन बाझेर होइन, मसिनो गरी मन माझेरै पीडित नागरिकको घाउमा मलहलम लगाउन सबै पक्ष गम्भीर बन्न जरुरी छ। यो विपत्तिको बेला हो, विपत्तिमा साथ र सहयोगको निकै खाँचो हुने भएकाले पीडामा कोही कसैले राजनीति गर्नु किमार्थ उपयुक्त भएको मानिने छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *