माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले के.पी. ओली नेतृत्वको सरकार राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनद्धारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सरकारले कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारेको पनि बताए ।
उनीहरुको वृत्तिविकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको अध्यक्ष दाहालको भनाइ छ । सरकार अवैधानिक र अलोकतान्त्रिक काम गर्नेतर्फ उन्मुख रहेकोले मुलुकमा अन्यौल र सन्त्रास उब्जिएको पनि उनको भनाइ छ । उनले भने,‘अहिले हामी हेर्यौ भने दिन दिनै जस्तो के संविधान, के ऐन कानून, नियम सबैलाई मिच्दै जबरजस्ती राज्य सत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ । हुनै नसक्ने र हुनै नहुने कुराहरु भइराखेका छन् । जे आधिकारीक हो, जे बैधानिक हो, जे संवैधानिक हो, जे बिधिसम्मत हो त्यसलाई गलहत्याइएको छ, त्यसलाई निमोठिएको छ । जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियम विरोधी कुराहरु त्यसलाई पच्छ्याइएको छ सरकारबाट यही सबैचिज अहिले देशमा निकै ठूलो अन्योल र सन्त्रास छ ।’
यो सरकार अब धेरैदिन नचल्ने र नयाँ सरकार बनेपछि कर्मचारीका मागहरुको सम्बन्धमा साथ समर्थन र सहयोग रहने पनि उनले आश्वासन दिए ।
Leave a Reply