माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा दलसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने दावी गरेका छन् । आज काठमाडौमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्याउन सफल भएको बताए ।
जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने उनको भनाइ छ । यस्तै, कांग्रेसँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा सुरु हुने अध्यक्ष दाहालले दावी गरे ।उनले केही दिन मै नयाँ सरकार बन्ने बताएका छन् । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको, कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास उनले व्यक्त गरे ।
नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको भन्दै अध्यक्ष दाहालले सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावाद विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको बताए ।
Leave a Reply