नयाँ सत्ता समीकरण प्रयास थालेका जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेसभित्र अन्यौलता देखिएको छ । जसपाभित्रै सत्ता समीकरणको विषयमा दुई धार देखिएको छ ।
अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।
अध्यक्ष ठाकुर र नेता महतो प्रधानमन्त्री ओलीसँग नै सत्ता सहकार्य गरेर अगाडि बढ्ने रणनीतिमा छन् । सहकार्यका लागि बनेको चार सदस्यीय कार्यदलले पनि निरन्तर काम गरिहेको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओली जसपाको माग र मुद्दाहरुको विषयमा सकारात्मक रहेको जसपाको भनाई छ । यता कांग्रेस सभापति शेरबहादुर देउवा पनि तत्काल सरकारको नेतृत्व लिने पक्षमा छैनन् । तर, पार्टी भित्रैबाट चर्को दवावमा परेपछि देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि जसपा र नेकपा माओवादी केन्द्रसँग प्रस्ताव गरेका छन् ।
उनको प्रस्तावलाई माओवादी केन्द्रीले स्वागत गरेपनि जसपाले भने छलफलका लागि समय मागेको छ । नयाँ सरकार गठनका लागि निर्णायक शक्तिको रुपमा रहेको पार्टी भित्रको विवादका कारण पनि उसले निर्णय लिन नसकेको हो ।
जसका कारण जसपा अहिले पनि निरन्तर छलफलमा छ । कांग्रेस सभापति देउवाले वार्ता जारी राखेपनि जसपाका नेताहरु प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् । जसले गर्दा सत्तापक्ष प्रतिपक्ष ‘पर्ख र हेर’को अवस्थामा छ । सभापति देउवा ओलीको नेतृत्वमा नै मध्यावधी निर्वाचनमा जाने मनस्थितिमा देखिन्छन् ।
गठनबन्धनसहितको नयाँ सरकार स्थिर नहुने देखिएपछि उनको प्राथमिकतामा सरकारभन्दा पार्टी महाधिवेशन देखिन्छ । तद्यापी सरकारको नेतृत्वका लागि उनले प्रस्ताव गरेपनि देउवको शंकास्पद भूमिकाका कारण माओवादी केन्द्र र जसपा झस्केको छ । जसका कारण मुलुकमा राजनीति अस्थिरता बढ्दै गएको देखिन्छ ।
जसपाको जारी बैठकको पहिलो दिन नै अध्यक्ष ठाकुरले देउवालाई प्रधानमन्त्री बन्न मन नभएको दाबी गरेका थिए । ठाकुरलाई उद्धृत गर्दै जसपाका एक नेताले ग्वोवलसँग भने, ‘नयाँ सरकारका लागि गठबन्धन बनाउने हो भने गठबन्धनका सबै दलको कुरा सुन्नुपर्छ । अरुसँग छलफल नहुँदै कांग्रेसले सरकारको नेतृत्व दाबी गर्न गठबन्धन सस्कार विपरित हो । पार्टीले उठाएका माग सम्बोधन गर्ने विषयमा पनि कांग्रेसले कुनै चासो दिएको छैन ।’ यद्यपी नयाँ सरकार गठनका लागि कांग्रेसले अन्य दलहरुको राय नबुझी सरकारको नेतृत्व गर्छु भन्नु राजनीतिक सस्कार विपरित भएको नेता उमाशंकर अरगरियाले जानकारी दिए ।
विश्लेषक के भन्छन् ?
आफू नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेका प्रधानमन्त्री ओली जसपाको जुनसुकै मागलाई पनि सम्बोधन गरेर अगाडि बढ्ने मनस्थितिमा छन् । मधेशी राजनीतिक विश्लेषक देवेश झाका अनुसार देउवा यो सरकार हटाउने पक्षमा नरहेको बताउँछन् । उनले भने, ‘संख्या नै नपुग्ने खेलमा म लाग्दिन भनेर देउवाले भनिरहेका छन् । अनि उहाँले सरकारको नेतृत्व गर्न लागिरहनुभएको छ भनेर कसरी पत्याउने ।’ त्यसकारण तत्काल नयाँ सरकार गठन हुने सम्भावना नरहेको उनको विश्लेषण छ । ‘नेताहरु आफ्नो माग र मुद्दाहरु जसले सम्बोधन गर्छ, त्यसैलाई सरकार बनाउन साथ दिने भन्नु स्वभाविक हो,’ उनले भने, ‘देउवा र रामचन्द्र पौैडेलको भिडियो नै भाइरल भइरहेको छ । कांग्रेस के चाहन्छ भन्ने कुरा ।’
यद्यपी राजनीतिलाई सधैं भरी संकटमा राख्नाले मुलुकको हित गर्दैन । नयाँ सत्ता समीकरणबारे जसपामा दुई धार देखिएपनि अध्यक्ष ठाकुर नेतृत्वकै धार बहुमतमा छ । नयाँ सरकार गठनका लागि कांग्रेसलाई माओवादी र जसपा दुवैको साथ अनिवार्य रहन्छ ।
प्रधानमन्त्री ओलीसँग पनि निरन्तर सम्वादमा रहेको जसपाका माग पूरा गर्न सरकारले नै पहल गरिरहेको छ । जसपाको समर्थन सुरक्षित गरेर संसदमा विश्वासको मत हासिल गर्ने प्रधानमन्त्री ओलीको योजना छ ।
Leave a Reply