काठमाडौं । आज संसदको विषेश अधिवेशन बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको हो ।
बैठकको सुरुमा शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् भने विश्वासको मतका लागि आजै मतदान हुने बैठकको कार्यसूचि रहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाका २८ सांसद कोरोना संक्रमित रहेकाले उनीहरुलाई पनि मतदानका लागि विषेश व्यवस्था मिलाइएको सचिवालयको भनाइ छ । विश्वासको मत पाउन प्रधानमन्त्री ओलीको पक्षमा १ सय ३६ मत आवश्यक पर्छ तर यो मत पाउन ओलीलाई कठिन छ । प्रधानमन्त्री ओली नेतृत्वको दल नेकपा एमालेका १ सय २१ सांसद छन् तर नेपाल– खनाल पक्षका सांसदले मत हाल्ने नहाल्ने टुंगो छैन् । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपाल खनाल पक्षले ओलीलाई सहमतिका लागि आज बिहान नौ बजे सम्मको समय दिएको थियो ।
पार्टीमा सहमति नभए आफ्नो पक्षका सांसदले सामुहिक राजीनामा दिने नेपाल खनाल पक्षले यस अघि नै चेतावनी दिइसकेको छ ।
त्यस्तै ६१ जना सांसद रहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने ४९ जना सांसद भएको नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने छ ।
निर्णायक मानिएको ३२ सांसद भएको जसपाबाट पनि प्रधानमन्त्री ओलीले एक पक्षको मत नपाउने निश्चित भएको छ । बाबुराम उपेन्द्र पक्षले ओलीको विपक्षमा मतदान गर्ने घोषणा गरिसकेको छ भने महन्थ राजेन्द्र महतो पक्षले पनि मतदानका लागि ह्वीप जारी नगरेर सांसदलाई स्वतन्त्र छाडिदिएको छ ।
एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ तर एमालेका सबै सांसदले मत दिएपनि ओलीका लागि अपुग हुने निश्चित छ ।
Leave a Reply