‘प्रधानमन्त्रीज्यू छातीमा हात राखेर भन्नुस्, अहिलेको अवस्था कसले ल्याएको ?’

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा भयावह स्थिति आउनुमा प्रधानमन्त्री ओली दोषी रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै देउवाले कोभिड १९ नियन्त्रणका लागि आफूहरूले दिएको सुझाव आत्मसात नगरेको र औषधि तथा स्वास्थ्यसामग्री खरिदमा चरम भ्रष्टाचार गरेको भन्दै ओलीको आलोचना गरे ।

उनले सीमित व्यापारिक घरानालाई खुशी पार्न ओलीले नागरिकको ज्यान जोखिममा पारेको आरोप लगाए । ‘प्रधानमन्त्रीज्यू एकपटक छातीमाथि हात राखेर सोध्नुस्’, उनले भने, ‘तपाइँले सिर्जना गर्नुभएको कुशासनको अवस्थाले यो अवस्था आएको होइन ?’

उनले ओलीले इतिहासले कहिल्यै माफ नगर्ने टिप्पणी गरे । ‘मानिस दुनियाँबाट भाग्न सक्छ’, देउवाले भने, ‘आफूबाट कहिल्यै भाग्न सक्दैन ।’ चुनावअघि र प्रधानमन्त्री बनेपछिका पटक–पटकका भाषण सम्झिन देउवाले ओलीलाई आग्रह गरे ।

देउवाले ओलीनेतृत्वको सरकार बनेदेखि नै संविधानमाथि कुल्चिने काम भएको आरोप लगाए । असंवैधानिक रूपमा प्रतिनिधिसभा भंग गरेको र सर्वोच्च अदालतले पुनःस्थापना गर्दा पनि राजीनामा दिन आवश्यक नठानेको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरे ।

आममानिस रोग, भोक र शोकमा रहँदा प्रधानमन्त्री फोहोरी राजनीतिक खेलमा व्यवस्त रहेको उनले बताए । देउवाले संघीय मात्र नभई प्रदेश सरकारमा समेत अराजकता मच्चाएको आरोप लगाए । देउवाले सरकारले देशको सार्वभौमिकताको रक्षा गर्न नसकेको र जनतालाई शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *