प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद् विघटनको कदमका विरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा शनिवार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिको कदमका विरुद्ध विपक्षी गठबन्धनमा रहेका सबै दल र नेताहरुले संयुक्त रुपमा कानुनी र राजनीतिक लडाई लड्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार केहीबेरपछि विपक्षी गठबन्धनको बैठक बस्दैछ । बैठकले कसरी यो कदमको प्रतिरोध गर्ने ? भन्नेबारे थप कार्यक्रमहरु स्पष्ट रुपमा तयार गर्नेछ ।
विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका १४९ सांसदहरुलाई बानेश्वरस्थित संघीय संसद भवनमा बोलाइएको छ ।
‘पहिले सर्वदलीय छलफल गर्ने, त्यसकालागि हस्ताक्षर गर्ने सबै सांसदहरुलाई संसद भवनमा बोलाइएको छ, त्यसपछि अदालतमा रिट हाल्ने र अरु कार्यक्रमहरु बनाएर प्रतिरोध गर्ने कुरा भयो,’ नेता पौडेलले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान बमोजिम संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनका १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवाले शुक्रबार राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए ।
Leave a Reply