काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आगामी मार्ग चित्रका लागि भन्दै छुट्टै प्रस्ताव सचिवालय बैठकमा पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव अध्ययनका लागि सबै सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ ।
बैठकमा यसअघि सचिवालय बैठक बोलाउन माग गर्दै प्रचण्डसहित ५ सदस्यले अध्यक्ष केपी ओलीलाई दिएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई बितरण गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन, कोभिड उपचार, रोकथाम र नियन्त्रणका प्रयास र पार्टी–सरकार सम्बन्धका विषयमा पनि छलफल भएको श्रेष्ठले बताए ।
भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि जारी गरिएको आन्तरिक पार्टी निर्देशन पनि सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको उनले जानकारी दिए ।
सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो एक बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले पार्टीको विवाद कुनै विदेशी शक्तिको इशारामा नभएको दाबी समेत गरेका छन् ।
Leave a Reply