म्याद थपका लागि रविलाई अदालत लगियो

 ग्लोबल टिभि           0

पुष २- राष्ट्रिय स्वतन्त्र पार्टी रास्पवाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ ।

सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आठौं पटक म्याद थपका लागि अदालतमा पेश गरिएको हो । गत बिहिबार अदालतले दिएको पाँच दिनको म्याद सकिएपछि आज फेरि पेश गरिएको हो ।

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई ९जिबी०सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि म्याद थपका लागि अदालत पेश गरिनेछ ।

अन्तिम पटक म्याद थपेर पुस ५ गतेसम्म अभियोजन दर्ता हुनेछ । किनकी सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान ।

पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको पुस ५ मा ९० दिन पुग्दैछ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्दको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ ।

प्रतिवेदन अध्ययन विश्लेषण गर्नुपर्ने भएकाले म्याद थप गर्न लागिएको हो । अनुसन्धान प्रतिवेदनले रविसहित ५१ जनालाई प्रतिवादी बनाएको छ । रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो।

भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्‍याइएको हो। कार्तिक ४ गते अदालत पेश गरिएकोमा पाँच दिनको म्याद थप भयो । कात्तिक ८ गते सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो।

जिल्ला अदालतले तेस्रो पटक गत कात्तिक १६ गते १० म्याद थप गर्‍यो । चौथों पटक कात्तिक २५ गते १३ दिन म्याद थपिएको थियो। पाँचौं पटक मंसीर ९ गते १५ दिन हिरासतमा राख्‍न अदालतले अनुमति दियो ।

मंसीर २३ गते जिल्ला अदालतले कास्कीले चार दिन हिरासतमा राख्न म्याद दिएको हो । सातौं पटक मंसीर २७ गते फेरि अदालतले पाँच दिन हिरासतमा राख्ने म्याद दिएको थियो । आज अन्तिम पटक म्याद थप हुनेछ ।

अब सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययन विश्लेषण गरेर मुद्दा चलाउनुपर्ने भएमा अदालतमा अभियोग पत्र दर्ता गर्नेछ ।

संसदीय छानबिन विशेष समितिले पोखराको सूर्यदर्शन सहकारी लगायत पाँच सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्षसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी०, प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशीलगायतले रकम अपचलन गरेको औंल्याएको छ ।

त्यसैको आधारमा रवि र छवि पक्राउ परेका हुन् । मुख्य योजनाकार रहेका जीबी फरार छन् । गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेल भने सुर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका थिए । उनी अहिले पुर्पक्षका लागि थुनामा कास्की कारागारमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *