काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो वैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
तर, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए ।
मेयर शाक्ले शुक्रबार बिहान पनि उपमेयरलगायतका नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुसंग छलफल गरेर स्थगन गरिएको बताए । दुबै पक्षको छलफलबाट आइतबार ११ बजे सभागृहमै नीति तथा कार्यक्रममाथिको छलफल गर्ने गरी नवौं अधिवेशन स्थगन गरिएको मेयर शाक्यले बताए ।
प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको बताए ।‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति(कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढ्ने पनि शाक्यको भनाइ छ ।
Leave a Reply