विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । संवैधानिक इजलासमा बहस सुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै सरकारविरुद्ध दबावमूलक कार्यक्रम अगाडि सार्ने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाणले बताए ।
प्रधानमन्त्री र राष्ट्रपतिबाट एकपछि अर्काे गरी असंवैधानिक कामहरु भइरहेकोले त्यस विरुद्ध संघर्ष गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो । गठबन्धनका सबै दलका भातृसंगठनहरु परिचालन हुने भएका छन् ।
यसैगरी गठबन्धनले पत्रकार, नागरिक समाज, बुद्धिजीवी लगायतका पक्षसँग अन्तर्क्रिरया समेत गर्ने निर्णय गरेको छ ।गठबन्धनका शीर्ष नेताहरुले आज बिहीबार पछिल्लो राजनीतिक घटनाक्रमबारे बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिरयाको समेत आयोजना गरिएको नेताहरुले बताएका छन् ।
Leave a Reply