नगरसभा सदस्यको बहिस्कारले ललितपुर महानगरपालिकाको बजेट रोकियो

 ग्लोबल टिभि      बिहिबार, असार १०, २०७८      0

ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट रोकिएको छ । नगरसभाका बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि बिहीबार ललितपुर महानगरपालिकाले आगामी आर्थिक बजेट रोकिएको हो ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेट प्रस्तुत हुन नसकेको बताए । आजको लागि सभा स्थगित भएको छ, तीन दिनपछि फेरि नगरसभा बस्ने उनले बताए ।

महर्जनका अनुसार यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि अर्को सभा बोलाइनेछ । सो नगरसभा बैठकमा बहुमत सदस्य उपस्थित नभए एक तिहाइ सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आह्वान गर्ने महानगरपालिकाको योजना छ ।

बुधबार नगरसभामा रहेका ९२ सदस्यमध्ये ६६ जनाले बैठक बहिस्कार गरेका थिए । बहिस्कार गर्नेहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

आफूहरुसँग नीति तथा कार्यक्रम र बजेटबारे छलफल नगरिएको भन्दै बहुमत नगरसभा सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए ।

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित भएपनि नगरसभा र नगर कार्यपालिकामा उनीहरु अल्पमतमा छन् ।

स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संविधानतः प्रबन्ध छ । तर, ललितपुरमा भएको राजनीतिक किचलोले बजेट प्रभावित भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *