नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बस्ने गरी शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् ।
पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको बताए ।
कांग्रेसमा क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ । असार २० गते क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानविन समितिलाई जिम्मेवारी दिइएको छ । तर, समितिले नयाँ सदस्यताका बारेमा मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानविन गर्न सकेको छैन ।
छानविन समितिले क्रियाशील सदस्यबारे बनाएको मापदण्डको ड्राफ्ट यसअघिको पदाधिकारी बैठकमा पेश गरेको थियो । तर पदाधिकारी बैठकमै सहमति नजुट्दा समितिले काम अगाडि बढाउन सकेको छैन । बिहीबार बस्ने पदाधिकारी बैठकले सदस्यता छानविन बारे मापदण्ड बनाउने बताइएको छ ।
यसैबीच बिहीबार बोलाइएको पदाधिकारी बैठकमा आफ्ना तर्फबाट साझा धारणा तय गर्न बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । महामन्त्री शशांक निवास महाराजगञ्जमा बसेको बैठकमा क्रियाशील सदस्यका बारेमा छलफल भएको बताइएको छ।
Leave a Reply