कांग्रेस क्रियाशील सदस्यको फाइनल गर्ने म्याद दुई दिन बाँकी, पाँच जिल्लाको अझै टुंगो लागेन

 ग्लोवल टि.भी.      शनिबार, असार १९, २०७८      0

काठमाडौं  :  नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। पटकपटक मिति सारेर हुन लागेको महाधिवेशनको मुख्य काम क्रियाशील सदस्यताको टुंगो भने अझै लाग्न सकेको छैन।

कार्यतालिकाअनुसार भोलि आइतवार क्रियाशिल सदस्यताको टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने अन्तिम मिति हो। त्यसपछि असार ३० गते देउवाले फाइनल गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यसूची रहेको छ।

तर, सिन्धुपाल्चोक, बर्दिया, पर्सा, बारा र सप्तरीको क्रियाशिल सदस्यता कांग्रेसको वेबसाइटमा अझै इन्ट्री भएको छैन। यसै विषयमा शुक्रवार कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक बस्यो। बैठक अघि देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो समूहमा क्रियाशीलबारे छलफल चलाए।

क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै निष्पक्ष छानवीनको दबाव दिए।

त्यसपछि बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको छ। शुक्रवार भएको सहमतिमा नविकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानवीन समितिले निर्णय गर्न सक्ने गरि मापदण्ड पनि बनाएको छ।

यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पुरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ। प्रदेश जिल्ला र वडास्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानवीन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *