सभामुखको वकिलको दाबी – देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिनुपर्छ

 ग्लोवल टि.भी.      आइतवार, असार २०, २०७८      0

प्रतिनिधि सभा विघटनसम्बन्धी आइतबारको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायीले  शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश दिनुपर्ने दाबी गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले दिएको रिटमा सभामुखलाई पनि विपक्षी बनाइएकाले उनको बचाउमा कानून व्यवसायीले बहस गरेका छन् ।

सभामुख सापकोटा पनि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेकाले उनका कानून व्यवसायीले रिट निवेदनमा माग गरेअनुसार नै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेका छन् । सभामुखको तर्फबाट बहस गर्दै अधिवक्ता मेघराज पोखरेलले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दाबी वैधानिक रहेकाले देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने परमादेश जारी हुनुपर्ने बताए ।

‘१४६ जना अदालतमा शशीर उपस्थित भएर देउवाको पक्षमा हस्ताक्षर गरेकाले देउवा प्रधानमन्त्री बन्ने आधार भएको उनले बताए ।
उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रिट दिएको आधारलाई नै प्रमाण मानेर फैसला गर्न मिल्छ ? भनी प्रश्न गरेका थिए । प्रधानन्यायाधीशको जवाफमा पोखरेलले धारा ७६ (५) अनुसार विश्वासको मत पाउन १४६ जनाको समर्थन पर्याप्त हुने बताए ।
प्रधानन्यायाधीश जबराले देउवालाई समर्थन गर्ने नेकपा एमालेको सांसदमाथि नैतिक प्रश्न उठ्छ कि उठ्दैन भनी प्रश्न गरे । अहिले त १४६ भित्र भद्रगोल छ नि त, यो भित्र मोरालिटी लागू हुन्छ कि हुदैन ? उत्तरदायित्व त दुवैतर्फ हुन्छ होला नि’ उनले भने ।

अधिवक्ता पोखरेलले नैतिकताको प्रश्न त सांसदहरु भन्दा प्रधानमन्त्री र राष्ट्रपतिमाथि उठिरहेको बताए ।उनले सरकार गठनसम्बन्धी व्यवस्था गर्दा संविधानको धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको व्यवस्था हुँदाहुँदै धारा ७६ (५) को व्यवस्था किन राखियो भन्ने विषयमा अदालतले राम्रोसँग व्याख्या गर्नुपर्ने बताए । उनले संसद जोगाउन प्रतिनिधि सभाका सदस्यहरुको प्रयासमा सरकार गठनका लागि उक्त धारा राखिएको जिकिर गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *